पर्सा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले बाराको फेटा घटनामा ‘स्टण्ट’ देखाएको भन्दै मधेश जागरण अभियानले विरोध जनाएको छ । अभियानका संयोजक कृष्ण मोहन सहनीले ‘सानालाई मात्र ऐन, ठूलालाई चैन’ भन्दै विरोध गरेका हुन् ।
गत शनिबार फेटा गाउँपालिकास्थित अस्पतालको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा विवाद हुँदा प्रहरीको गोली लागेर आदित्य पासवान गम्भीर घाइते भएका थिए । हाल उनको काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । तर सांसद अन्सारीले अस्पतालको निषेधित कक्षमा खिचिएको तस्वीर सार्वजनिक गर्दै चिकित्सकसँग पासवानको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताएका छन् । जबकि, उक्त कक्षको भित्तामा स्पष्ट लेखिएको छ- ‘यहाँ फोटो तथा भिडियो खिच्न मनाही छ ।’
सांसद अन्सारी जनताको सहानुभूति पाउने लोभमा फोटो खिच्नकै लागि अस्पताल पुगेको सहनीको निष्कर्ष छ । उनले सोधेका छन्, ‘नियम र कानुन सर्वसाधारणका लागि मात्रै हो कि राजनीतिक पहुँच भएका व्यक्तिहरूका लागि पनि हो ? फोटो खिच्न निषेध गरिएको ठाउँमा फोटो खिच्न मिल्ने हो भने निषेधको नियम कसका लागि बनाइएको हो ?’
सांसद अन्सारी पीडितको घाउमा मलम लगाउने जिम्मेवारीभन्दा फोटो खिच्ने र देखाउने गतिविधिमा सक्रिय देखिएकोमा सहनीले चिन्ता समेत व्यक्त गरे । ‘जनताको पीडामा साथ दिनु ठूलो कुरा हो कि निषेधित ठाउँमा फोटो खिचेर चर्चामा आउनु ? कानुनको शासन भाषणमा मात्रै होइन, व्यवहारमा पनि देखिनुपर्छ’, उनले थपेका छन् ।
फेटा घटनामाथि छानविन गर्न प्रहरीले तीन सदस्यीय छानविन समिति गठन गरिसकेको छ । मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका एसएसपी प्रभुप्रसाद ढकाल नेतृत्वको समितिमा समितिमा एसपी भुवनेश्वरप्रसाद साह र इन्सपेक्टर जटाशंकर यादव सदस्य छन् ।