जिराभवानी । पर्साको जिराभवानी गाउँपालिका–१ महादेवपट्टि पकडीटोलमा सञ्चालित महालक्ष्मी सः मिल फर्निचर उद्योगका सञ्चालक मुकेश साह तेलीले वनकर्मी र सुरक्षाकर्मीले आफूहरूमाथि ज्यादती गरेको आरोप लगाएका छन्।
सोमबार घटनास्थलमै पत्रकार सम्मेलन गर्दै सञ्चालक साहले आफ्नो उद्योगमा प्रयोग भइरहेको सालको काठ नेपाल सरकारको प्रचलित नियमअनुसार खरिद गरी ल्याएको दाबी गरेका छन्। उनले कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–७ स्थित बी.आर. सः मिलबाट खरिद गरेर ल्याएको सालको काठबाट झ्यालको चौकस तयार गरी राखेको अवस्थामा गादीमाई वन व्यवस्थापन समितिका अध्यक्ष सहरुम राउत गद्दीले छापामारी गरेको बताए।
सञ्चालक साहले समितिका अध्यक्ष गद्दीको निर्देशनमा अन्य सदस्यहरूले आफूबाट मासिक १० हजार रुपैयाँ घुस माग्ने गरेको आरोपसमेत लगाए। मागअनुसार रकम नदिएका कारण उद्योग सञ्चालनमा अवरोध सिर्जना गरिएको उनको भनाइ छ।
त्यस्तै, डिभिजन वन कार्यालय पर्साबाट गर्नुपर्ने विभिन्न कागजी प्रक्रिया पनि समितिका अध्यक्ष गद्दीको निर्देशनमा अगाडि नबढाइएको साहले पत्रकार सम्मेलनमा बताए।
सोमबारको घटनाका बेला आफू घरमा नभएको र वनकर्मी तथा सुरक्षाकर्मीले घरमा रहेका महिलामाथि हातपात गर्दै दुर्व्यवहार गरेको सञ्चालक साहकी श्रीमती महालक्ष्मी साहले आरोप लगाइन्।
पत्रकार सम्मेलनमार्फत घटनाबारे सार्वजनिक जानकारी गराउँदै सञ्चालक साहले आफूले कानुनअनुसार काठ खरिद गरेको प्रमाण हुँदाहुँदै पनि अनावश्यक दुःख दिइएको गुनासो गरे। घटनाबारे निष्पक्ष छानबिन गरी न्याय दिलाउन उनले सम्बन्धित निकायसँग माग गरेका छन्।
न्याय नपाए आफू न्यायका लागि अदालत जानेसमेत सञ्चालक साहले चेतावनी दिएका छन्।