पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमर खड्काको घरबाट जुवातास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बागलुङ बजारमा तास खेलिरहेको गोप्य सूचनाको आधारमा छापा हान्दा खड्कासहित ९ जना पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट १ लाख ६४ हजार ९ सय २५ रुपैयाँ नगद बरामद भएको छ । प्रहरी निरीक्षक चिरञ्जीवी अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले जुवाखालमा छापा मारेको थियो । पक्राउ पर्नेमा बागलुङ नगरपालिका २ बस्ने ४२ वर्षीय चिरञ्जीवी शर्मा, ६३ वर्षीय रिपोर्ट जिसी, ५० वर्षीय दुर्गा बहादुर खत्री, ३५ वर्षीय हरी शर्मा, बागलुङ नगरपालिका ३ का ६६ वर्षीय भीमबहादुर खत्री छन् ।
यसैगरी ६६ वर्षकै डम्मर बहादुर भण्डारी, बागलुङ नगरपालिका १ का ५५ वर्षीय राजु गौतम र वडा नम्बर ८ का ५६ वर्षीय केशव पराजुली पनि पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरू नेता, वकिल र स्वास्थ्यकर्मी रहेका पाइएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । खड्का यसअघिको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस त्यागेर रास्वपा प्रवेश गरेका थिए । उनी बागलुङ नगरपालिकाका पार्टी वडासभापति हुन् ।