वीरगञ्ज । पकहाँ मैनपुर गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार डा. अमीर आलमले मधेशी राजनीतिमा अब समीक्षा मात्र नभई जनताले अनुभूति गर्ने परिणाम दिने नेतृत्व आवश्यक रहेको बताएका छन्।
वीरगञ्जमा मंगलबार आयोजित ‘मधेश : अबको बाटो र मधेशी राजनीतिमा समीक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै डा. आलमले यस्तो बताएका हुन्।
सहिद सञ्जय चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा वीरगञ्ज पब्लिक कलेज (बीपीसी) को पुरानो भवन, पानीट्याङ्कीमा आयोजित कार्यक्रममा उनले मधेशी राजनीतिमा समीक्षा र भाषणभन्दा पनि व्यवहारमा देखिने परिवर्तन आवश्यक रहेको धारणा व्यक्त गरे।
पकहाँ मैनपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारसमेत रहेका आलमले राजनीतिक नेतृत्व जनताप्रति जवाफदेही हुनुपर्ने र विकासका प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने विषयमा जोड दिएका छन्।
उनको भनाइमा मधेशको समग्र विकास, जनताको अपेक्षा र राजनीतिक नेतृत्वको जिम्मेवारीलाई अब परिणामका आधारमा मूल्याङ्कन गर्नुपर्ने आवश्यकता छ।
कार्यक्रममा मधेशको वर्तमान राजनीतिक अवस्था, आगामी राजनीतिक दिशा र मधेशी राजनीतिमा देखिएका चुनौतीबारे अन्तरक्रिया गरिएको थियो।