पर्सा । पर्साको जगरनाथपुर गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको आज एक विशेष समारोहबीच भव्य रूपमा उद्घाटन गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिका पूर्वमन्त्री एवं कार्यक्रमका प्रमुख अतिथि रमेश रिजालले पूजापाठ गरी, रिबन काट्नुका साथै शिलालेख अनावरण गरेर भवनको विधिवत् उद्घाटन गर्नुभएको हो।
लामो समयदेखि प्रशासनिक सेवा सञ्चालनका क्रममा भौतिक पूर्वाधारको अभाव झेल्दै आएको गाउँपालिकाले उक्त समस्या समाधान गर्ने उद्देश्यले २०८१ सालमा भवन निर्माण गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार पर्साको झखरा मसिहानी गाउँमा २ करोड ३५ लाख रुपैयाँको लागतमा नयाँ प्रशासनिक भवन निर्माण गरिएको हो।
नवनिर्मित भवन सञ्चालनमा आएसँगै गाउँपालिकाको सेवा प्रवाह थप व्यवस्थित, सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ। नयाँ भवनबाट स्थानीय नागरिकले एउटै स्थानबाट विभिन्न सरकारी सेवा प्राप्त गर्न सक्ने विश्वास गरिएको छ। यसले सेवाग्राहीलाई छिटो, छरितो र गुणस्तरीय सेवा उपलब्ध गराउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
गाउँपालिका अध्यक्ष श्रीकान्त यादवको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नवनिर्मित प्रशासनिक भवनमा पूजापाठ गर्नुका साथै गाईलाई प्रवेश गराएर धार्मिक विधिअनुसार पूजा गरी भवन सञ्चालनमा ल्याइएको अध्यक्ष यादवले जानकारी दिनुभयो।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिलकुमार केसरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
उद्घाटन समारोहमा मधेश प्रदेशका वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरी, पूर्वकृषिमन्त्री जनार्दन सिंह क्षेत्री, नेपाली कांग्रेसका महासमिति प्रतिनिधि वशिष्ठनारायण कुर्मी, नेता रमेश पाण्डे, पूर्वसांसद पहलाद गिरी, पटेर्वासुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरी, वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, नवीन सिंह, गाउँपालिका उपाध्यक्ष बबिता सिंह क्षेत्री, किशोरी साह, ममता महतो, नेपाली कांग्रेस पर्साका कोषाध्यक्ष प्रेमबहादुर थापा, गाउँपालिकाका लेखापाल सन्देश कुशवाहालगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी वडाध्यक्ष, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, कर्मचारी, शिक्षक, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले नवनिर्मित प्रशासनिक भवन गाउँपालिकाको विकास, सुशासन र समृद्धिको महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गर्दै भवनको उचित संरक्षण र प्रभावकारी उपयोगमा सबैले ध्यान दिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको सञ्चालन शिक्षक रुपनारायण साहले गर्नुभएको थियो। समारोहमा भोजपुरी गायक सुनिल पण्डित तथा स्थानीय विद्यालयका छात्राहरूले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए।
नवनिर्मित प्रशासनिक भवनले जगरनाथपुर गाउँपालिकाको संस्थागत विकासमा नयाँ आयाम थप्नुका साथै नागरिकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।