काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय निर्वाचन आयोगले पार्टीका विभिन्न तहका अधिवेशन, आन्तरिक निर्वाचन तथा सार्वजनिक निर्वाचनका लागि उम्मेदवार छनोटका लागि सातबुँदे निर्देशन जारी गरेको छ।
शुक्रबार अपिल जारी गर्दै रास्वपाले पार्टी विधान र कार्यविधि पालना गर्न आह्वान गर्दै समानान्तर प्रक्रिया सञ्चालनमा रोक लगाएको छ। पहुँच, आर्थिक प्रभाव, नातावाद, गुटगत दबाब, धम्की वा अन्य अनुचित प्रभाव प्रयोग गरी प्रक्रिया प्रभावित गर्ने कार्य स्वीकार्य नहुने रास्वपाले प्रष्ट पारेको छ।
यसैगरी, स्थानीय निर्वाचनका लागि ‘उम्मेदवार क्लब’मा आबद्ध हुनु उम्मेदवारी सुनिश्चितता नभएको स्पष्ट पार्दै रास्वपाले आवेदन दिएकै आधारमा आफूलाई उम्मेदवारका रूपमा प्रस्तुत गरी प्रचार नगर्न सचेत गराएको छ।
पार्टीको निर्देशन, विधान तथा आचारसंहिता उल्लङ्घन गरे त्यसको प्रकृति र गम्भीरताका आधारमा उम्मेदवारी खारेजी, प्रक्रियाबाट निष्कासन, निलम्बन वा पार्टी सदस्यता समाप्तिसम्मको कारबाही हुन सक्ने निर्देशनमा उल्लेख छ।

