जनकपुरधाम । मधेशमा नयाँ सत्ता समीकरण बन्ने भएपछि नेपाली कम्युनिस्ट पार्टी नेकपाका मन्त्रीहरू राजीनामा दिन तयारी गरेका छन् ।
एक सांसदका अनुसार केहीबेर अगाडि नेकपा संसदीय दलको भर्चुअल बैठक भएको थियो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशन पश्चात भएको भर्चुअल बैठकमा सरकारबाट बाहरिने निर्णयमा गरेको हो ।
केही बेरपछि नेकपाका चार मन्त्रीले मधेस प्रदेश सरकारलाई राजीनामा पत्र बुझाउने तयारीमा छन् । मधेश प्रदेश सरकारमा नेकपाका चार मन्त्री छन् ।
अर्थमन्त्री संसदीय दलका नेता युवराज भट्टराई, उद्योग पर्यटनमन्त्री कनिष पटेल, गृह सञ्चार तथा कानुन मन्त्री फकिरा महतो र ऊर्जा सिंचाई तथा खानेपानी मन्त्री जवाहर कुशवाहा रहेका छन् ।
गत असोज ३० गते मधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएपछि सरकार अल्पमतमा छ । यद्यपि नेकपाले कांग्रेसको मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई काँध थापिरहेको थियो ।
मधेश सरकारलाई अब विश्वासको मत लिन ८ दिन मात्र बाँकी रहेको छ ।
मधेशमा नेकपा एमालेले जसपा र नेकपा सहितको नयाँ समीकरण बनेको दाबी गरेको छ ।
एमाले संसदीय दलका नेता सरोज कुमार यादवले केन्द्रमै तीन दलका शीर्ष नेता बसेर नयाँ समीकरण बनेको अनलाइनखबरलाई आज बिहान बताएका थिए ।
तर, जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव भने उक्त कुरा सही नभएको दाबी समेत समाजिक सञ्जालमा टिप्पणी गरेका छन् । यद्यपि जसपाभित्र पनि समीकरण बनेको दाबी छ ।