वीरगञ्ज । पर्साको इलाका प्रहरी कार्यालय पोखरियाको मुद्दा शाखाको कार्यशैलीमाथि गम्भीर प्रश्न उठ्न थालेका छन्। मुद्दा शाखामा कार्यरत प्रहरी कर्मचारी र कथित बिचौलियाबीचको साँठगाँठमा विभिन्न मुद्दाका आरोपितलाई आर्थिक लेनदेनका आधारमा उन्मुक्ति दिने तथा मुद्दाको प्रकृति परिवर्तन गराउने गरिएको आरोप सार्वजनिक भएपछि प्रहरी प्रशासनको कार्यशैलीमाथि प्रश्न उठेको हो।
मुद्दा शाखामा कार्यरत असई रूपेश चौधरी बिचौलियामार्फत विभिन्न मुद्दाका आरोपित तथा तिनका आफन्तसँग आर्थिक लेनदेन गर्ने गरेको प्रहरी स्रोतको दाबी छ। लागुऔषध, ठगी, अभद्र व्यवहार तथा कालोबजारीलगायतका मुद्दामा पक्राउ परेकालाई मिलाइदिने भन्दै रकम माग्ने गरिएको आरोपसमेत लागेको छ।
प्रहरी स्रोतका अनुसार इलाका प्रहरी कार्यालय पोखरियाको परिसरमा सेवाग्राहीभन्दा बिचौलियाको उपस्थिति बढी देखिन थालेको छ। प्रहरी कर्मचारीसँग निकट सम्बन्ध बनाएका केही व्यक्तिले पक्राउ परेका आरोपितलाई छुटाउनेदेखि मुद्दाको प्रकृति परिवर्तन गराउनेसम्मको गतिविधिमा भूमिका खेल्ने गरेको दाबी गरिएको छ।
यसअघि आफूलाई नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको घुमुवा बताउँदै सर्वसाधारण र व्यापारीसँग रकम असुली गरेको आरोपमा पक्राउ परेका अशोक वर्णवालको घटनाले पनि पोखरिया प्रहरीको कार्यशैलीमाथि थप प्रश्न खडा गरेको छ।
वर्णवालमाथि प्रहरीमा जागिर लगाइदिने भन्दै पोखरिया नगरपालिका–७, रानीगञ्ज निवासी श्रीराम राउतका छोरासँग दुई लाख पाँच हजार रुपैयाँ लिएको तर जागिर नलगाइदिएको र रकमसमेत फिर्ता नगरेको आरोप छ। यस विषयमा पीडित पक्षले ठगीमा परेको गुनासो गर्दै आएको छ।
तर वर्णवाल पक्राउ परेपछि उनको ठगीसम्बन्धी मुद्दालाई लिएर प्रहरी कार्यालयभित्रै अर्को विवादास्पद गतिविधि भएको स्रोतको दाबी छ। स्रोतका अनुसार प्रहरी निरीक्षक भानुभक्त अर्यालले वर्णवालकी श्रीमतीलाई कार्यालयमा बोलाई ठगीमा परेको पक्षलाई समेत उपस्थित गराएर उनकी श्रीमतीको नामबाट चेक उपलब्ध गराई मुद्दा फिर्ता गराउन दबाब दिएको आरोप लागेको छ।
त्यसपछि चेक उपलब्ध गराएर ठगीसम्बन्धी उजुरी फिर्ता गराइएको र वर्णवालविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी उनलाई छाडिएको स्रोतको दाबी छ।
त्यस्तै, पोखरियामा ब्राउनसुगरसहित पक्राउ परेका व्यक्तिहरूमध्ये मुख्य आरोपितलाई नै छाडिएको आरोपसमेत सार्वजनिक भएको छ। गत सोमबार दुई सय मिलिग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ परेको स्थानीय तथा प्रहरी स्रोतको दाबी छ।
स्रोतका अनुसार पोखरिया नगरपालिका–४ का रितिक गिरी र वडा नम्बर १० का गोविन्दा राउत कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउ परेका व्यक्तिको बयानका आधारमा ब्राउनसुगर कारोबारमा संलग्न भनिएका अर्का व्यक्तिसम्म प्रहरी पुगेको र सुरुमा पक्राउ परेका गिरीलाई भने एक रात नियन्त्रणमा राखेपछि छाडिएको दाबी गरिएको छ।
तर इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक भानुभक्त अर्यालले उक्त दिन ब्राउनसुगरसहित एक जना मात्रै पक्राउ परेको बताएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले पनि आफ्नो जानकारीमा एक जना मात्रै पक्राउ परेको बताएका थिए। यद्यपि, घटनाको वास्तविकताबारे सूक्ष्म अनुसन्धान गर्ने र अन्य व्यक्तिको संलग्नता पुष्टि भए कानुनी दायरामा ल्याउने प्रतिबद्धता उनले व्यक्त गरेका थिए।
यसैबीच, वर्णवालको ठगीसम्बन्धी मुद्दा फिर्ता गराउन दबाब दिएको र पछि अभद्र व्यवहारको मुद्दामा छाडिएको भनिएको विषयमा प्रहरी निरीक्षक अर्यालसँग प्रतिक्रिया माग्दा उनले आफूलाई यसबारे जानकारी नभएको बताए। उनले यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता चक्रबहादुर मल्लसँग बुझ्न आग्रह गर्दै फोन राखेका थिए।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता मल्लसँग यस विषयमा प्रतिक्रिया माग्दा उनले भोलि बिहान जानकारी दिने बताएका छन्। उनको विस्तृत प्रतिक्रिया प्राप्त हुन बाँकी छ।
एकातिर मुद्दा शाखाका कर्मचारीमाथि बिचौलियासँग मिलेर आर्थिक चलखेल गरेको आरोप छ भने अर्कोतर्फ लागुऔषध र ठगीजस्ता गम्भीर प्रकृतिका घटनामा पक्राउ परेका व्यक्तिलाई उन्मुक्ति दिएको दाबी सार्वजनिक भइरहेको छ। यी घटनाले इलाका प्रहरी कार्यालय पोखरियाको अनुसन्धान प्रक्रिया, मुद्दा दर्ता तथा फर्छ्योट प्रणाली र प्रहरी कर्मचारीको जवाफदेहितामाथि निष्पक्ष छानबिन गर्नुपर्ने आवश्यकता देखाएको छ।
नेपाल प्रहरीको जिम्मेवारी अपराध नियन्त्रण, पीडितलाई न्याय र कानुनको निष्पक्ष कार्यान्वयन गर्नु हो। त्यसैले प्रहरी कर्मचारीमाथि लागेका यस्ता गम्भीर आरोपको निष्पक्ष छानबिन गरी दोषी देखिए कानुनअनुसार कारबाही गर्न र आरोप निराधार भए सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित प्रहरी नेतृत्वको ध्यानाकर्षण आवश्यक देखिन्छ।