सिरहा । सिरहाको एक निजी विद्यालयमा कार्यरत एक शिक्षक आफै कार्यरत विद्यालयमा अध्ययनरत एक नाबालिलाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेका छन् ।
धनगढीमाई नगरपालिका १० जिरोमाइलस्थित विश्वशान्ति एकेडेमीमा दैनिक प्रशासनको जिम्मेवारीसहित अध्यापन गराउँदै आएका करिब २५ वर्षीय सौगात लुइँटेललाई करिब साढे तीन वर्षीया नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
लुइँटेललाई गत मंगलबार जबर्जस्ती करणी सम्बन्धी कसुरमा पक्राउ गरी सिरहा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सिरहा प्रहरीका अनुसार पीडित नाबालिकाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी सम्बन्धित परिवारको जिम्मा लगाइएको छ ।
शिक्षक पक्राउपछि केही राजनीतिक दलका नेतामार्फत विद्यालय सञ्चालकले आरोपी शिक्षकविरुद्ध दिइएको जाहेरी फिर्ता लिन विभिन्न खालका प्रलोभनसहित दबाब र धम्की दिइरहेको पीडित परिवारको गुनासो छ । ‘घटनाको बारेमा परिवारले थाहा पाए लगत्तै प्रहरीमा दिएको किटानी जाहेरी दर्ता भई आरोपी पक्राउ पर्दा समेत आर्थिक प्रलोभनसहित धम्क्याउन छोडेका छैनन्,’ पीडितकी आफन्तले भने ।
पीडित परिवारले प्रहरीमा जबर्जस्तीकरणी सम्बन्धी कसुरमा दिएको किटानी जाहेरी दर्ता गरी अनुसन्धान भइरहेको सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए । आरोपीले ८ कात्तिकदेखि १२ कात्तिकसम्म नाबालिकालाई टिफिनको समयमा कार्यालयमा पुर्याएर चकलेट दिँदै ललाइफकाइ पटक–पटक बालयौन दुरुपयोग गर्दै आएको कुरा १७ कात्तिकमा नाबालिकाले रुँदै सुनाएपछि मात्र थाहा पाएको पीडित परिवारले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।
आरोपीले नाबालिकालाई कार्यालयमा लगेर फकाउँदै पटक पटक यौन दुर्व्यवहारको कारण पिसाब गर्न समेत गाह्रो भएपछि छालासम्बन्धी कुनै समस्या होला भन्ठानेर त्यति चासो नदिएको आफन्तले सुनाए । उनका अनुसार केही दिन विद्यालय नपठाउँदा घाउ ठीक हुने, पठाएपछि पुनः त्यही समस्या दोहोरिन थालेपछि १७ कात्तिकमा अस्पताल पुर्याएर चेकजाँच गराउँदा जबर्जस्ती करणी भएको हुन सक्ने स्वास्थ्यकर्मीले औंल्याएका थिए ।
‘त्यसपछि नाबालिकालाई सोधपुछ गर्दा रुँदै आरोपी शिक्षकले आफूमाथि गरिरहेको उत्पीडनबारे सुनाएकी हुन्’ जाहेरीमा भनिएको छ ।
दोषीलाई कडा कारबाही गर्न माग
यसैबिच नाबालिकामाथि विद्यालयमै यौन उत्पीडन भएको घटना सार्वजनिक भएपछि महिला मानव अधिकार रक्षक राष्ट्रिय सञ्जालले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको निष्पक्ष, प्रभावकारी तथा अनुसन्धान गरी घटना प्रभावित नाबालिकाको न्याय सुनिश्चितताको माग गरेको छ ।
संजालकी अध्यक्ष श्यामकुमारी साहले शुक्रबार प्रेस विज्ञप्तिमार्फत नाबालिकामाथि भएको यौन हिंसा मानव अधिकार, बालअधिकार तथा बालिकाको सम्मानपूर्वक बाँच्न पाउने अधिकारमाथिको गम्भीर उल्लंघन भएकाले नाबालिकाको सुरक्षा, संरक्षण तथा न्यायमा पहुँच सुनिश्चित गर्ने राज्यको दायित्वको स्मरण गराएकी छन् ।
विज्ञप्तिमा घटनाको अनुसन्धान तथा न्यायिक प्रक्रियामा कुनै पनि राजनीतिक, आर्थिक वा अन्य प्रकारको दबाब र प्रभाव पर्न नदिई कानुन बमोजिम दोषी ठहर हुने व्यक्तिलाई हदैसम्मको कानुनी कारबाही, पीडित नाबालिका तथा परिवारको गोपनीयता, सुरक्षा, सम्मान र मनोसामाजिक अवस्थालाई प्राथमिकतामा राखी आवश्यक मनोसामाजिक परामर्श, स्वास्थ्य उपचार तथा कानुनी सहायता उपलब्ध गराइनु पर्ने उल्लेख छ ।
‘पीडित बालिका तथा परिवारलाई न्याय प्राप्तिको प्रक्रियामा थप पीडा, धम्की, दबाब वा सामाजिक लाञ्छनाबाट संरक्षण गरियोस्’ विज्ञप्तिमा भनिएको छ ‘स्थानीय सरकार, विद्यालय, प्रहरी तथा सम्बन्धित निकायले बालबालिकामाथि हुने यौन हिंसा रोकथाम, सुरक्षा र संरक्षणका लागि प्रभावकारी संयन्त्र निर्माण गरी घटना दोहोरिन नदिन पनि पहल गरियोस् ।’
बालबालिकामाथि हुने यौन हिंसा कुनै पनि अवस्थामा स्वीकार्य हुन नसक्ने उल्लेख गर्दै विज्ञप्तिमा सञ्जाल घटनाको न्यायिक प्रक्रियाप्रति संवेदनशील निगरानीसहित पीडितको न्याय, सुरक्षा र सम्मानका पक्षमा निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।