काठमाडौं । स्वास्थ्य मन्त्रीका लागि सिफारिस भएकी डा. संगीता मिश्रा मन्त्री नबन्ने सम्भावना बढेको छ । उनीविरुद्ध भ्रष्टाचार आरोप रहेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन पनि गरिरहेको जानकारी पाएपछि प्रधानमन्त्री सुशीला कार्कीले मिश्राको नाम फिर्ता लिने तयारी गरेकी छन् ।
आइतबार प्रधानमन्त्री कार्कीले स्वास्थ्य मन्त्रालयकी पूर्वअतिरिक्त सचिव मिश्राको नाम स्वास्थ्य मन्त्रीको रुपमा राष्ट्रपति समक्ष सिफारिस गरेकी थिइन् । तर, उनी ‘विवादित पात्र’ भएको सूचना पाएपछि प्रधानमन्त्री कार्कीले ‘होल्ड’ गर्न भनेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
आइतबार प्रधानमन्त्री कार्कीले डा. मिश्रासहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग वाणिज्य तथा आपूर्ति र भूमिसुधार मन्त्रीमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, कृषिमन्त्रीमा डा. मदन परियार र सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेललाई सिफारिस गरेकी थिइन् ।
तर, सिफारिस विवादित भएपछि हिजो मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन । मन्त्रिपरिषद् विस्तार आज गर्ने तयारी गरिएको छ । दिउँसो २ बजे शपथ ग्रहणको तयारी छ ।
मन्त्री बन्ने भनेर अतिरिक्त सचिवबाट राजीनामा दिएकी थिइन् मिश्राले
स्वास्थ्यमन्त्री बन्ने सम्भावना बढेपछि डा. मिश्राले आइतबार नै अतिरिक्त सचिवबाट राजीनामा दिएकी थिइन् ।
उसो त उनी स्वास्थ्य सचिव हुन नपाएको झोकले ६ महिना बिदा बसेकी थिइन् । गत २१ फागुनमा स्वास्थ्य मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई वरिष्ठता मिचेर नियुक्त गरिएको भन्दै सर्वोच्च अदालतमा रिटसमेत दायर गरेकी डा. मिश्राले निरन्तर बिदा थप्दै बसेकी थिइन् ।
जेनजी आन्दोलनका कारण स्वास्थ्य मन्त्री पदबाट प्रदीप पौडेल पनि हटेपछि १२औं तहकी अतिरिक्त सचिव डा. मिश्रा गत बिहीबार मन्त्रालय फर्किएकी थिइन् ।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. संगीताले यसअघि स्वास्थ्य सेवा विभागको महानिर्देशक, समन्वय महाशाखा, कोशी र स्त्री तथा प्रसूति रोग अस्पतालको मेडिकल सुपरिटेन्डेन्टका रुपमा काम गरेकी थिइन् ।
उनी स्वास्थ्य सेवाकी १२औं तहकी उच्च अधिकारी हुन् ।