सर्लाही । सर्लाहीमा सिँचाइका लागि विद्युतीय मोटरको अत्यधिक प्रयोग हुन थालेपछि नेपाल विद्युत् प्राधिकरणलाई लोड थेग्नै मुस्किल परेको छ । जिल्लामा नेपाल विद्युत् प्राधिकरणको लालबन्दी, मलङ्गवा र बरहथवा गरी तीन वटै वितरण केन्द्रलाई अहिले अत्यधिक भार थपिँदा नियमित विद्युत् प्रवाह गर्न हम्मे हम्मे परेको हो । यसअघि मलङ्गवा वितरण केन्द्रमा १८ देखि २० एमभिए बिजुली खपत हुँदै आएकोमा अहिले २२ देखि २५ एमभिए पावर माग भइरहेको छ ।
पानी नपरेर सिँचाइका लागि जताततै बिजुलीबाट चल्ने मोटरको प्रयोग हुँदा लोड थेग्न साह्रै गाह्रो परिरहेको मलङ्गवा वितरण केन्द्रका प्रमुख एवं उपप्रबन्धक इन्जिनियर उमेशप्रसाद यादवले जानकारी दिनुभयो । लोड थेग्न मुस्किल परेपछि ढल्केबरतर्फको हरिपुर्वा सबस्टेसनबाट ८० एम्पिएर र लालबन्दीबाट ३० एम्पिएर बिजुली थप गरेको वितरण केन्द्र प्रमुख यादवले बताउनुभयो ।
उहाँले भन्नुभयो, “नवलपुरदेखि तानिएको लाइनमा तीन सय एम्पिएरको तार (कन्डक्टर) रहेकोमा अहिले ४८० एम्पिएर लाइन दिनुपर्ने अवस्था आएको छ । यसरी तारको क्षमताभन्दा बढी पावर दिएर बिजुली प्रवाह गर्दा ओभरलोडका कारण बेला बेलामा बत्ती काटिने समस्या आएको हो ।”
मलङ्गवा वितरण केन्द्रमा अन्य वितरण केन्द्रको तुलनामा बढी मात्रामा बिजुली चुहावटसमेत रहेको छ । वितरण केन्द्र प्रमुख यादवका अनुसार मलङ्गवा वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा अहिले पनि ४० प्रतिशत चुहावट भइरहेको छ । अधिक लोडका कारण सर्लाहीमा बिजुलीको तार बारम्बार चुँडिने, ट्रान्सफर्मरको फ्युज जाने जस्ता समस्या बढी देखिने गरेको छ । यस्तै यसअघि साढे छदेखि सात एमभिए पावर आवश्यक पर्ने बरहथवा वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा अहिले साढे आठदेखि नौ एमभिए लोड रहेको छ ।
बरहथवा वितरण केन्द्रका प्रमुख अन्जनीकुमार यादवले जुन दिन गर्मी भयो त्यही दिन लोड धान्न मुस्किल पर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सिँचाइका लागि विद्युतीय मोटरको प्रयोग बढ्दो क्रममा छँदै छ त्यसका साथै गर्मी धेरै भयो भने घरायसी प्रयोजनमा पनि अत्यधिक विद्युत् खपत हुने हुँदा समस्या पर्ने गरेको छ ।”
त्यसै गरी जिल्लाको लालबन्दी वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा १४ एमभिए लोड रहने गरेकोमा अहिले बढेर १८ देखि १९ एमभिएसम्म पुगेको छ । लालबन्दी वितरण केन्द्रका प्रमुख त्रिभुवन यादवले बिजुलीको बढ्दो माग र लोड थेग्न ठाउँ ठाउँमा नयाँ ट्रान्सफर्मर जडान गरिएको बताउनुभयो ।
लालबन्दी वितरण केन्द्रका प्रमुख यादवले विस्तारै समस्या समाधान हुँदै गएको दाबी गर्नुभएको छ । उहाँले भन्नुभयो, “पछिल्लो समय ठाउँ ठाउँमा नयाँ ट्रान्सफर्मर जडान गरेपछि क्रमिक रूपमा समस्या समाधान हुँदै छ ।”