वीरगञ्ज, पर्सा । वीरगञ्जस्थित सवारी तथा यातायात व्यवस्था कार्यालय फेरि एकपटक गम्भीर भ्रष्टाचार र अनियमितताको दलदलमा फसेको खुलासा भएको छ । कार्यालयका केही कर्मचारीहरूले खुलेआम घुस असुली, बिचौलिया परिचालन र अवैध कारोबार गर्दै दैनिक लाखौं रुपैयाँ बराबरको रकम उठाउँदै आएको प्रमाण सार्वजनिक भएको छ ।
प्राप्त सूचनाअनुसार कर्मचारी चन्द्र प्रसाद पुरबे, गौरीशंकर माली (भगत), र चन्द्रमा सिंह लगायतको समूहले कार्यालयभित्र बिचौलियामार्फत सवारी दर्ता, नामसारी, ब्लुबुक नवीकरणदेखि लिएर विदेशी सवारी अनुमति पत्रसम्मका सबै सेवामा अवैध कारोबार सञ्चालन गर्दै आएका छन् ।
यातायात व्यवस्था कार्यविधि निर्देशिका २०७४ विपरीत, विभिन्न मोटरसाइकल कम्पनीका प्रतिनिधिहरूमार्फत सवारीधनीको उपस्थितिबिनै दैनिक ५०० भन्दा बढी नामसारी गर्ने गरिएको छ । प्रत्येक नामसारीमा कम्तीमा रु. ८० असुलिने हुँदा यसरी मात्र दैनिक रु. ४० हजारभन्दा बढी रकम उठाइने गरेको बताइएको छ ।
त्यस्तै, भारतीय सवारी अनुमति पत्र (RTO) का नाममा विदेशी पर्यटकहरूबाट पनि प्रतिपत्र प्रति रु. ५०० देखि २,००० सम्म अतिरिक्त रकम असुल्ने गरिएको प्रमाणहरू पनि फेला परेका छन् ।
सवारीधनी स्वयं उपस्थित नभएका अवस्थामा समेत ठूला रकम लिएर बिचौलियामार्फत कागजातमा सही–छाप मिलाउने, नामसारी गर्ने र दर्ता पास गराउने कार्य नियमित रूपमा हुने गरेको सेवाग्राहीहरूले बताएका छन् । उदाहरणका रूपमा ना ३२ प ३३४५ नम्बरको मोटरसाइकलसहितका कागजातहरू सञ्चारमाध्यमसँग सुरक्षित रहेको उल्लेख छ ।
कार्यालय सहयोगी माली र सिंहले आफ्ना पाँच जना बिचौलियामार्फत सेवाग्राहीसँग प्रत्यक्ष रकम असुल्ने व्यवस्था मिलाएका छन् । ती बिचौलियाहरू — अमर देव सोनल, ध्रुव पटेल, शिवशम्भु यादव, छोटेलाल यादव, र सन्तोष कुमार गुप्ता — लाई कार्यालयभित्रै कुर्सी र कार्यसहज वातावरण उपलब्ध गराइ रकम उठाउने जिम्मा दिइएको छ ।
सेवाग्राहीहरूको उपस्थितिबिनै कागजातमा सही–छाप मिलाउने, मनपरी दर्ता गर्ने र पास गराउने कार्य दैनिकीझैं नियमित बनेको छ ।
मासिक करिब ३० हजार रुपैयाँ तलब पाउने गौरीशंकर मालीले हेटौँडामा करोडौं मूल्यको तीनतले घर, आधा दर्जनभन्दा बढी जग्गा, र महँगो जीवनशैली कायम राखेका छन् । उनका छोराहरू भारत र काठमाडौंमा अध्ययनरत छन्, जसको खर्च पनि अवैध आम्दानीबाटै धानिएको आशंका गरिएको छ ।
“माली र सिंहले ‘हाम्रो पहुँच मन्त्रालयसम्म छ, केही हुँदैन’ भन्दै सेवाग्राहीलाई धम्की दिने गर्छन्।”कार्यालयमा प्रमुख अधिकृत प्रेम कार्की र नायब सुब्बा विप्लव भट्टराई भए पनि वास्तविक नियन्त्रण माली र सिंहकै हातमा रहेको बताइन्छ । बिचौलियाहरूका अनुसार, दैनिक असुलिएको रकमको अंश शाखा अधिकृत कार्कीलाई समेत बुझाइने गरिएको छ ।
भुक्तभोगीहरूले खुलेआम घुस असुली र अनियमिततामा संलग्न कर्मचारीहरू विरुद्ध तत्काल कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभागलाई छानबिनका लागि आग्रह गरेका छन् ।
“अख्तियार मौन छ, त्यसैले भ्रष्ट कर्मचारीहरू अझ बलियो बन्दै गइरहेका छन्। सार्वजनिक सेवामा बसेर जनताको दुःख बेच्नेहरूलाई कडाभन्दा कडा सजाय नदिएसम्म वीरगञ्ज यातायात कार्यालयभित्रको भ्रष्टाचार अन्त्य हुने छैन।”
यामाहा, टिभिएस, बजाजजस्ता विभिन्न मोटरसाइकल कम्पनीहरूले बिक्री गरेका सवारीसाधनहरूमा क्रेता–विक्रेता दुवैको प्रत्यक्ष उपस्थितिबिनै नामसारी गरिने गरेको पुष्टि भएको छ । तर, यातायात व्यवस्था कार्यविधि निर्देशिका २०७४ अनुसार सवारी साधन किन्ने र बेच्ने दुवै पक्षको उपस्थितिबिनै नामसारी हस्तान्तरण गर्नुपर्ने कानुनी प्रावधान रहेको छ ।
यसरी दैनिक कम्तीमा ५०० भन्दा बढी नामसारीहरू रु. ८० का दरले असुली गरी हुने गरेको हुँदा कार्यालयभित्रको भ्रष्टाचार र अवैध आम्दानीको परिमाण अत्यन्त ठूलो रहेको देखिन्छ ।