पर्सा । पर्सामा लिखतसम्बन्धी कसुरमा करिब चार वर्ष पुर्पक्षमा कारागार जीवन बिताएका एकजना निर्दोष साबित भएका छन् । पर्सा जिल्ला अदालतले मोरङको साबिक रंगेली गाविस– २ स्थायी घर भई चितवनको भरतपुर महानगरपालिका– ७ का ४६ वर्षीय सुरज भुसाललाई निर्दोष रहेको १७ कात्तिकमा गरेको अन्तिम फैसलामा उल्लेख छ ।
पर्सा जिल्ला अदालतका न्यायाधीश रुद्रप्रसाद सुवेदीले भुसाल निर्दोष रहेको फैसला गरेका हुन् । भुसालको मुद्दामा अधिवक्ता निरुजा चापागाईंले १३ कात्तिकमा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । सर्वोच्चले एक हप्ताभित्र मुद्दाको किनारा लगाउन पत्राचार गरेपछि उनी १६ कात्तिकमा निर्दोष साबित भएको पर्सा जिल्ला अदालतले जनाएको छ ।
भुसाललाई पर्सा प्रहरीले लिखतसम्बन्धी कसुरमा अनुसन्धान गरेर तत्कालीन समयमा सरकारी वकिल कार्यालयमार्फत अभियोजन गरेर मुद्दा दर्ता गरेको अदालतको तथ्यांकमा देखिन्छ । उनलाई १४ माघ ०७८ मा थुनछेक गर्दै एक लाख धरौटी माग भएको पर्सा जिल्ला अदालत इजलास नम्बर ११ का नायब सुब्बा प्रकाश पुडासैनीले बताए । उनका अनुसार लिखतसम्बन्धी कसुरमा अन्तिम फैसलामा निर्दोष साबित भएका भुसालले तत्कालीन न्यायाधीश राजेशकुमार कटुवालको इजलासले माग गरेको धरौटी तिर्न नसकेपछि वीरगन्ज कारागारमा कैदी जीवन बिताउँदै आएका थिए ।
धरौटी बुझाउन नसक्दा सोही समयमा कारागार गएका भुसालको मुद्दामा विभिन्न समयमा आठवटा पेसी परे पनि केही हेर्न नभ्याइने सूचीमा परेको उनले बताए । अदालतबाट निर्दोष साबित भएका भुसाल बा.९२प ७८२५ नम्बरको मोटरसाइकलको ब्लुबुक किर्ते गरेको आरोपमा पक्राउ परेको नायब सुब्बा पुडासैनीले बताए । त्यसअघि उनी सोही नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा पक्राउ परेर ललितपुर जिल्ला अदालतबाट सफाइ पनि पाइसकेको उनको भनाइ छ ।
अदालतले पनि किर्ते गरेको ब्लुबुक विधि विज्ञान प्रयोगशालामा परीक्षण गराउँदा किर्ते नभएको प्रमाणका आधारमा मुद्दामा अन्तिम फैसला भएको हो । ‘निर्दोष साबित भएका भुसालले पहिले सोही मोटरसाइकल चोरी गरेको कसुरमा सफाइ पाइसकेका छन्,’ उनले भने, ‘पछि पर्सामा ब्लुबुक किर्ते गरेको भन्दै मुद्दा दायर भएपछि कानुनी कारबाहीमा परेका हुन् ।’
१६ कात्तिकमा पेसी परेपछि वैतनिक कानुन व्यवसायी अधिवक्ता लीलाबहादुर रिजाल र विद्यादेवी कटुवालले भुसालको तर्फबाट बहस गरेका थिए । पर्साका कानुनी व्यवसायी रामनारायण कुर्मीले प्रहरीबाट दर्ता हुने सरकारी मुद्दामा समयमै विभिन्न प्रमाण जुटाउन नसक्दा अनाहकमा मुद्दा लम्बिने गरेको बताए । कानुनअनुसार करिब चार वर्ष अनाहकमा जेलजीवन बिताएका भुसालले क्षतिपूर्तिको माग गरे राज्यले उपलब्ध गराउने व्यवस्था रहेको अधिवक्ता कुर्मीले बताए ।