समाजिक सञ्जालमा सन् २०१८ को आफ्नो पहिलो पोष्ट गर्दैगर्दा ट्रम्प पाकिस्तानप्रति धेरै नै निराश देखिन्थे । उनले विगत १५ वर्षमा अमेरिकाले ‘मुर्ख’ बनेर पाकिस्तानलाई ३३ अर्ब अमेरिकी डलर दिएको गुनासो गरेका थिए ।
उनका अनुसार सहायताको बदलामा अमेरिकाले ‘झुठ र धोखाधडी’मात्रै पाएको थियो । पाकिस्तानले आतंककारीलाई सघाएको भन्दै ट्रम्पले सुरक्षा सहायता पनि स्थगित गरेका थिए । यसैक्रममा उनी पाकिस्तानसँग अर्को कुरामा पनि रिसाएका थिए । सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकी सहरमा भएको आतंकवादी हमलामा संलग्न रहेका ओसामा बिन लादेनलाई लुकाएकोमा समेत उनले आक्रोश पोखेका थिए ।
अहिले पनि पाकिस्तानले विभिन्न आतंकवादी समूहलाई सैन्य तथा गुप्तचरी सहायता उपलब्ध गराइरहेकै छ । सुरक्षित आश्रय उपलब्ध गराइरहेकै छ । पाकिस्तान चीनको निकटतम साझेदार पनि हो । गत महिना व्यापार क्षेत्रमा संघर्षविराम भएता पनि चीन अमेरिकाको मुख्य प्रतिद्वन्द्वी हो । यस्तो अवस्थामा पाकिस्तानलाई सचेत गराउनुको साटो अमेरिका द्विपक्षीय सम्बन्धमा थप निकटता बढाउँदै छ ।
ट्रम्प प्रशासनका अधिकारीहरू इरान घेर्ने तथा यस क्षेत्रमा अमेरिकी हितलाई खतरामा पार्न सक्ने आतंकवादी समूहहरूलाई नियन्त्रण गर्ने प्रयासमा पाकिस्तानलाई महत्त्वपूर्ण साझेदार हुन सक्ने रूपमा प्रस्तुत गर्छन् । तर पाकिस्तानको विगत अमेरिकीहरूले सोचेजस्तो विश्वसनीय छैन ।
पाकिस्तानले आफू भरपर्दो सुरक्षा साझेदार होइन भन्ने पटक–पटक देखाएकै छ । अहिले पनि पाकिस्तान फेरिएको वा सुध्रिएको भन्ने कुनै आधार छैन । यस्तो अवस्थामा पनि ट्रम्पले पाकिस्तानलाई अँगालो हाल्नुको कारण भने उनको व्यक्तिगत वित्तीय हित र विदेश नीतिमा उनको लेनदेनवाला दृष्टिकोणमा फेला पर्न सक्छ ।
उदाहरणका रूपमा गत अप्रिलमा ‘वर्ल्ड लिबर्टी फाइनान्सियल’ सँग पाकिस्तानले गरेको सम्झौता हेर्न सकिन्छ । त्यो संस्था ‘क्रिप्टो–करेन्सी’ कारोबार गर्ने गर्छ, जसमा ट्रम्प परिवारको बहुमत ‘सेयर’ छ । त्यसका प्रमुख कार्यकारी अधिकृत जाक विट्कफ हुन् । उनी ट्रम्पतर्फबाट मध्यपूर्वका लागि विशेष दूत हुन् । यिनले नेतृत्व गरेको कम्पनीले ट्रम्प तथा विट्कफ परिवारलाई नाफा दिलाउने गर्छ ।
ट्रम्पले व्यक्तिगत फाइदाका लागि विदेश नीतिका प्राथमिकता तय गर्छन् भन्ने मान्न थालेका शक्तिहरू यस्ता घटनाक्रमपछि थप प्रस्ट हुँदै गएका छन् । साथै अमेरिकाको विश्वसनीयतामा पनि ह्रास आइरहेको छ ।
पाकिस्तानसँगको यस सम्झौताले पर्यवेक्षकहरू तथा अमेरिकी पूर्वअधिकारीहरूलाई चिन्तित गराएको छ । उनीहरू ट्रम्पले अमेरिकाको विदेश नीतिलाई आफ्नो व्यापारिक नाफामा मिसाएर गोलमाल बनाउन थालेको विषयमा सावधान गराइरहेका छन् । ट्रम्प भने आफूलाई स्वार्थको द्वन्द्वको नियम लागु नहुने जिद्दी गरिरहेका छन ।
यसै पनि ट्रम्पले व्यक्तिगत फाइदाका लागि विदेश नीतिका प्राथमिकता तय गर्छन् भन्ने मान्न थालेका शक्तिहरू यस्ता घटनाक्रमपछि थप प्रस्ट हुँदै गएका छन् । साथै अमेरिकाको विश्वसनीयतामा पनि ह्रास आइरहेको छ ।
अमेरिका र पाकिस्तानबिचको ‘रोमान्स’ गत जुलाईमा पनि देखियो । जुलाईमा यी दुई मुलुक आपसी व्यापार सम्झौतामा पुगे । सम्झौताका विस्तृत विवरणहरू सार्वजनिक हुन बाँकी नै रहे पनि पाकिस्तानले अमेरिकी भन्सार महसुल घट्ने तथा देशमा अमेरिकी लगानी बढ्ने भन्दै खुसी मनाइरहेको छ ।
पाकिस्तानका अधिकारीहरू सम्झौताले ‘ऊर्जा, खानी, खनिज, सूचना प्रविधि, क्रिप्टोकरेन्सीलगायत अन्य क्षेत्रमा आर्थिक सहकार्यको नयाँ युगको सुरुवात’ भएको घोषणा गरिरहेका छन् ।
त्यसयता पाकिस्तानले आफूलाई ‘क्रिटिकल मिनिरल’को सम्भावित निर्यातकर्ताका रूपमा प्रस्तुत गर्न थालेको छ । अहिले चीनले करिब एकाधिकारको स्तरमा अमेरिकाको निर्भरता कायम राखेको क्षेत्रमा पाकिस्तानले आफूलाई सम्भावित सहयोगी देखाउन खोजेको छ ।
गत सेप्टेम्बरमा पाकिस्तानी सैनिकसँग निकट मानिएको ‘फ्रन्टियर वर्क्स अर्गनाइजेसन’ले अमेरिकाको निजी व्यापारिक संस्था ‘युएस स्ट्राटेजीक मेटल्स’ सँग पाकिस्तानमा ‘क्रिटिकल मिनिरल’ को भण्डार उत्पादन गर्ने भन्दै ५० करोड बराबरको सम्झौता गरेको छ ।
पाकिस्तानका लागि यो केवल व्यापारिक सम्झौतामात्रै नभएर कूटनीतिक ‘कु’ पनि थियो । पाकिस्तानका प्रधानमन्त्री सहबाज शरिफ तथा शक्तिशाली सैन्य नेता एवं फिल्ड मार्शल असिम मुनिरले डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा पालैपालो भेट्दा काठको आकर्षक बाकसमा ‘मिनिरल’ का नमुनाहरू उपहार दिएका थिए ।
त्यसको केही समय लगत्तै पाकिस्तानले प्रशोधित ‘रेयर अर्थ’ तथा अन्य ‘क्रिटिकल मिनिरल’ पठाएको थियो, जसले पाकिस्तान तथा अमेरिकाबिचको गठजोडको सांकेतिक इशारा गरेको थियो ।
ट्रम्पको स्वभाव यस्ता ठुला बाचाहरूसँग लोभिने खालको छ । अझ व्यक्तिगत चाकडीको शैलीमा आएका बाचाले त उनी भुतुक्कै भइहाल्छन् । यति नै बेला पाकिस्तानका नेताहरूले ट्रम्पलाई अत्यधिक प्रशंसाले भरिपूर्ण पारेका छन् । उनले मरिहत्ते गर्ने गरेको नोबेल शान्ति पुरस्कारका लागि मनोनयन पनि गरिदिएका छन् ।
पाकिस्तानले अमेरिकालाई उल्लेख्य मात्रामा ‘रेयर अर्थ’ उपलब्ध गराउन सक्छ कि सक्दैन भन्ने स्पष्ट छैन । यद्यपि पाकिस्तानले बारम्बार आफूसँग ६ देखि ८ ट्रिलियन अमेरिकी डलर बराबरको खनिज पदार्थ रहेको दोहोर्याइरहेको छ । उसले दाबी गरेको खनिजको धेरैजसो हिस्सा बलुचिस्तान तथा खाइबर पख्तुनवा प्रान्तमा रहेको भनिएको छ ।
यी प्रान्तमा चलेका हिंसात्मक आन्दोलनका कारण ठुलो मात्रामा उत्खनन गर्न सजिलो पनि छैन । एकजना विश्लेषकले ठट्टा गर्दै भनेका छन्, ‘पाकिस्तानले धेरै समयदेखि सुन दिन्छु भन्दै चाँदी दिने गरेको छ ।’
ट्रम्पको स्वभाव यस्ता ठुला बाचाहरूसँग लोभिने खालको छ । अझ व्यक्तिगत चाकडीको शैलीमा आएका बाचाले त उनी भुतुक्कै भइहाल्छन् । यति नै बेला पाकिस्तानका नेताहरूले ट्रम्पलाई अत्यधिक प्रशंसाले भरिपूर्ण पारेका छन् । उनले मरिहत्ते गर्ने गरेको नोबेल शान्ति पुरस्कारका लागि मनोनयन पनि गरिदिएका छन् । कूटनीतिलाई व्यक्तिगत सम्बन्धको वरपर घुमाउने राष्ट्रपतिका लागि यस्तो कदमको ठुलो प्रभाव हुन सक्छ ।
पाकिस्तानले ट्रम्पको चुरो पत्ता लगाएर समातेजस्तो देखिन्छ । यसबाट उत्साहित पाकिस्तानी नेताहरूले उत्साहित हुँदै संविधान संशोधनमार्फत ट्रम्पका ‘प्रिय फिल्ड मार्शल’ असिफ मुनिरलाई थप शक्तिशाली बनाइदिएका छन् । पाकिस्तानमा निर्वाचित नागरिक सरकार भने लाचार छायाजस्तो बन्न पुगेको छ ।
भारतका लागि ट्रम्पले पाकिस्तानसँग बनाएको न्यानो सम्बन्ध एक खालको धोकाजस्तै हो । भारतले अमेरिकासँग रणनीतिक सम्बन्ध बनाउन करिब दुई दशकको समय लगाएको छ । यी मुलुक लोकतान्त्रिक मूल्यमा आधारित छन् । उनीहरू दुवै चीनलाई रोक्न चाहन्छन् । अहिले अमेरिका भने सक्रिया रूपमा भारतका कूटनीतिक तथा सुरक्षा स्वार्थको विरुद्ध लागेको देखिन्छ ।
समस्या ट्रम्पले पाकिस्तानसँग गरेको सम्झौतामा मात्रै सीमित छैन । गत मे महिनामा भारत र पाकिस्तान आपसी सैन्य झडपमा संलग्न भए । तीन दिनपछि युद्धविराम भयो । युद्धविरामलाई लिएर ट्रम्पले सार्वजनिक रूपमा त्यसको जस लिन खोजे । भारतले सिधै उनको दाबी खारेज गर्यो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पसँग लडाइँबारे छलफल नै नभएको कुरा सार्वजनिक रूपमा भनिदिए । ट्रम्प आफ्नो दाबीमा कायमै रहे । भारतको आक्रमणका कारण नभएर आफ्नो व्यापार सम्बन्धका कारण युद्धविराम गराएको दोहोर्याइरहे ।
उनको त्यस्तो दाबीले गर्दा मोदीलाई घरेलु तथा बाह्य मञ्चमा कमजोर बनाइदियो । भारतमा अमेरिकालाई विश्वास गर्न नसकिने धारणा बलियो बन्दै गयो । ट्रम्प मोदीले पनि आफूलाई नोबेल पुरस्कारमा सिफारिस गरुन् भन्ने चाहन्थे, तर त्यसो नहुँदा उनीहरूबिचको दुरी झन् बढ्दै गयो ।
उनीहरूबिचको तनाव व्यापार युद्धमा पनि मिसिन पुग्यो । ट्रम्पले सुरुमा भारतबाट हुने आयातमाथि लगाएको २५ प्रतिशतको भन्सार महसुल बढाएर ५० प्रतिशत बनाए । यसो गर्दा भारतका आफ्नै व्यापार अवरोध तथा रुसी तेलको खरिदलाई बहाना बनाइएको थियो ।
भारतले उक्त भन्सार महसुलमा राजनीतिक बदलाको अनुभव गर्यो । पाकिस्तानसँग कूटनीतिक झमेला चलिरहेको समयमा भारतले यस्तो सहनु परेको थियो । युरोपेली संघ, जापान तथा टर्कीजस्ता मुलुकले रुसी तेल खरिदका बाबजुद दोस्रो तहको अमेरिकी भन्सार महसुल सामना गर्नु परेन । ट्रम्पको पक्षमा देखिएको हंगेरीले आफ्नो ९० प्रतिशत ऊर्जा रुसबाट ल्याउँछ, तर उसलाई नाकाबन्दीमा उन्मुक्ति दिइएको छ ।
भारतका लागि यस्ता कदमहरू कूटनीतिक असफलता मात्रै होइनन् । धेरै मेहनतले तयार भएका रणनीतिक साझेदारी नै अप्ठ्यारोमा पार्न सक्छन् । त्यस्ता साझेदारीलाई सबै अमेरिकी प्रशासनले असाध्यै महत्त्वपूर्ण मानेका थिए । अमेरिकाको हिन्द–प्रशान्त रणनीतिमा यसको महत्त्व बोध गरेका थिए ।
पाकिस्तानलाई चाकडी, विविध सांकेतिक खालका इशारा तथा व्यक्तिगत समृद्धिको बाचाका आधारमा अधिक नजिक हुन दिएर ट्रम्पले यहाँको समग्र क्षेत्रलाई जोखिममा पारिरहेका छन् । अमेरिकाले शीतयुद्धको समयमा दक्षिण एसियाप्रति लिएको नीतिजस्तै सनकी र गलत नीति लिन खोज्दैछ ।