भारतीय अभिनेत्री दीपिका पादुकोण आज आफ्नो ४० औँ जन्मदिन मनाएकी छन्। यस विशेष अवसरमा उनको आगामी ठुलो प्रोजेक्ट ‘AA22xA6’ का निर्माण पक्षले फ्यानहरूलाई विशेष उपहार दिँदै फिल्मबाट दीपिकाको पहिलो लुक्स सार्वजनिक गरेको छ।

निर्देशक एट्लीको बहुप्रतिक्षित यस फिल्ममा दीपिकाको एक्सन अवतार देखाइएको छ। फिल्म निर्माण गरिरहेको सन पिक्चर्स र सन म्युजिकले सार्वजनिक गरेको तस्विरमा दीपिका ‘वारियर’ (योद्धा) को भेषमा देखिएकी छन्। उनले दुवै हातमा तरबार लिएकी छन् र उनी आक्रामक एक्सन पोजमा देखिएकी छन्। यसबाहेक सन पिक्चर्सले दीपिकालाई जन्मदिनको शुभकामना दिँदै अर्को एउटा फरक लुक्स पनि शेयर गरेको छ, जसलाई फिल्मकै हिस्सा मानिएको छ।
एट्लीको निर्देशनमा बन्न लागेको यो साइन्स-फिक्सन एक्सन फिल्ममा दीपिकासँगै साउथ सुपरस्टार अल्लु अर्जुन मुख्य भूमिकामा रहनेछन्। फिल्ममा अल्लु अर्जुनले पहिलो पटक धेरै वटा भूमिका (मल्टिपल रोल) निभाउँदै छन्। फिल्ममा रश्मिका मन्दाना, जान्ह्वी कपुर र मृणाल ठाकुरको पनि अभिनय रहनेछ।
फिल्मको नाम अहिले अस्थायी रूपमा ‘AA22xA6’ राखिएको छ, जसको अर्थ अल्लु अर्जुनको २२ औँ र एट्लीको छैटौँ फिल्म भन्ने बुझिन्छ।