अमेरिकास्थित उड्डयन सुरक्षा अभियानकर्ताहरूले गत वर्ष भारतमा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमानमा पहिलेदेखि नै गम्भीर प्राविधिक समस्या रहेको दाबी गरेका छन् ।
सो विमानमा पटक–पटक प्रणालीगत असफलता देखिएको प्रमाण आफूसँग रहेको भन्दै त्यसबारे अमेरिकी सिनेटलाई प्रतिवेदन पठाइएको उनीहरूले बताएका छन् ।
उक्त विमान १२ जुनमा अहमदावादबाट लन्डनतर्फ उडेको केही समयमै दुर्घटनाग्रस्त भएको थियो, जसमा २६० जनाको ज्यान गएको थियो । दुर्घटनाको औपचारिक अनुसन्धान अझै जारी छ । यद्यपि जुलाईमा सार्वजनिक भएको अन्तरिम प्रतिवेदनपछि घटनाबारे व्यापक अड्कल र विवाद उत्पन्न भएको थियो । बोइङले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।
दुर्घटनाग्रस्त विमान भीटी–एएनबी दर्ता नम्बरको थियो, जुन बोइङ ७८७ का प्रारम्भिक उत्पादनमध्ये एक मानिन्छ । यसले सन् २०१३ को अन्त्यतिर पहिलो उडान भरेको र सन् २०१४ को सुरुवातमा एयर इन्डियाको सेवामा प्रवेश गरेको थियो ।
‘फाउन्डेसन फर एभिएसन सेफ्टी’ नामक अभियान समूहका अनुसार, विमानले सेवामा प्रवेश गरेकै दिनदेखि विभिन्न प्रणालीगत खराबी देखाउन थालेको थियो ।
प्रतिवेदनमा इन्जिनियरिङ, उत्पादन, गुणस्तर र मर्मत सम्भारसँग सम्बन्धित समस्याका कारण इलेक्ट्रोनिक्स तथा सफ्टवेयर त्रुटि, बारम्बार सर्किट ब्रेकर ट्रिप हुनु, तारहरूमा क्षति, सर्ट सर्किट, विद्युत् प्रवाह बन्द हुनु र पावर सिस्टम अत्यधिक तात्नु जस्ता समस्या उल्लेख गरिएको छ ।
सन् २०२२ को जनवरीमा विमानको पी १०० पावर डिस्ट्रीब्युसन प्यानलमा आगलागी भएको र क्षति अत्यधिक भएकाले पूरै प्यानल फेर्नुपरेको दाबी पनि प्रतिवेदनमा छ ।
बोइङ ७८७ ले अघिल्ला पुस्ताका विमानभन्दा बढी विद्युत् प्रणालीमा निर्भर हुने डिजाइन अपनाएकाले सुरुवाती चरणदेखि नै यस्ता समस्या देखिँदै आएको अभियानकर्ताहरूको भनाइ छ ।