पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेभित्र उम्मेदवार सिफारिसका क्रममा देखिएको विवादले पार्टीको आन्तरिक अवस्था उजागर गरेको छ। पोखरिया नगरपालिकामा सम्पन्न क्षेत्रीय बैठकमा अधिकांश नेता, अगुवा तथा कार्यकर्ताले अनुभवी र जनाधार भएका नेताहरू पूर्वमन्त्री तथा निवर्तमान सांसद राजकुमार गुप्ता र पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य प्रमोद जयसवालको नाम सशक्त रूपमा अघि सारेका थिए।
बैठकमा सहभागी कार्यकर्ताहरूका अनुसार गुप्ता र जैसवाल पार्टी संगठन निर्माण, जनसम्पर्क र विकासका सवालमा अनुभवी तथा भरोसायोग्य नेताका रूपमा स्थापित छन्। स्थानीय तहदेखि केन्द्रसम्मको राजनीतिक अनुभव, कार्यकर्तासँगको निरन्तर सम्पर्क र चुनाव जित्ने क्षमता भएकै कारण उनीहरूको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको बताइएको छ।“पार्टीलाई जिताउने क्षमता र जनताको विश्वास भएका नेतामाथि नै कार्यकर्ताको एकमत देखियो,” बैठकमा सहभागी जिल्ला कमिटी सदस्य कृष्णा कुशवाहाले बताए।
गुप्ता र जैसवालसँगै पूर्व प्रदेश सभा सदस्य मञ्जुर अन्सारी, तेजप्रकाश निषाद, शिव पटेल, मनिर आलम, भगवान कुर्मी, मञ्जु देवी कुर्मी र रामबाबु यादवलगायतले पनि आफ्नो नाम सिफारिसका लागि प्रस्ताव गरेका थिए। बैठक सुरुवातमा प्रक्रिया र छलफल मार्फत नाम संकलन भइरहेको थियो।
छलफलका क्रममा पुर्व मन्त्री तथा यस क्षेत्रका सान्सद गुप्ता र पुर्व मन्त्री तथा यस क्षेत्रका वर्तमान प्रदेश सान्सद प्रमोद जयसवालको नाम अधिकतम पालिका , वडाका नेता , कार्यकर्ता लगायत जनप्रतिनिधिबाट प्रस्ताव भएको थियो भने अन्य प्रस्तावित नामहरु इच्छुक पार्टी सदस्यहरुले आफै प्रस्ताव गरेका थिए ।
तर यही क्रममा क्षेत्रीय अध्यक्ष फरमान अन्सारीले पार्टीभित्र कुनै छलफल र सहमति नगरी पार्टी सदस्य समेत नरहेको बाहिरी व्यक्ति रुपेश पाण्डेको नाम सिफारिस सूचीमा लेखेपछि स्थिति अचानक तनावग्रस्त बनेको थियो।
अन्य राजनीतिक दलमा आबद्ध रहेको भनिएका व्यक्तिलाई एमालेको तर्फबाट कार्यकर्ताको भावना र नियम विपरित रूपमा थप्न खोजिएको भन्दै बैठकमा कडा विरोध शुरु भएको थियो।
माइनुट तानातान, होहल्ला र नाराबाजीको अवस्था सिर्जना भएपछि बैठक नियन्त्रण बाहिर गएको थियो। विवाद चर्किएपछि क्षेत्रीय अध्यक्ष फरमान अन्सारी, जिल्ला इन्चार्ज प्रभु हजरा र जिल्ला अध्यक्ष विश्वम्भर शर्मा बैठकस्थल छाडेर बाहिरिएको बताइएको छ। उनीहरू बैठकबाट पन्छिएको भन्दै कार्यकर्ताहरूले तीव्र असन्तोष जनाउँदै उनीहरूमाथि जिम्मेवारीबाट भागेको आरोपसमेत लगाए।
घटनापछि जिल्ला इन्चार्ज र जिल्ला अध्यक्षविरुद्ध बैठकस्थलमै नाराबाजी भएको थियो। लामो समयदेखि पार्टीका लागि खटिँदै आएका कार्यकर्तालाई बेवास्ता गर्दै बाहिरी व्यक्तिलाई अघि सार्ने प्रयासले नेतृत्वको नियतमाथि गम्भीर प्रश्न उठेको उनीहरूको भनाइ छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यस घटनाले पर्सा–३ मा नेकपा एमालेको संगठनात्मक अवस्था कमजोर हुने र आन्तरिक लोकतन्त्र गम्भीर संकटमा परेको स्पष्ट संकेत दिएको छ। कार्यकर्ताहरूले भने पार्टी नेतृत्वले समयमै विधि, मापदण्ड र कार्यकर्ताको भावनाको सम्मान गर्दै निर्णय नसच्याए संगठनलाई थप क्षति पुग्ने चेतावनी दिएका छन्।