वीरगञ्ज । विचार र सिद्धान्तभन्दा सत्ता र शक्तिको पछाडि दौडने मधेशी राजनीतिको पुरानै रोग फेरि एकपटक वीरगञ्जको सडकमा नग्न रूपमा प्रदर्शन भएको छ । वीरगञ्जका दुई ‘चतुर’ खेलाडी– निवर्तमान सांसद प्रदीप यादव र मेयर राजेशमान सिंहले आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न पुन: कित्ता परिवर्तन गर्दै नेकपा (एमाले) को ओत लागेका छन् ।
यो प्रवेशसँगै एउटा गम्भीर प्रश्न उब्जिएको छ– के यी नेताहरूको कुनै निश्चित राजनीतिक गन्तव्य छ कि उनीहरू केवल चुनावी वैशाखीको खोजीमा मात्र छन् ?
अवसरवादका पर्याय: प्रदीप यादव
पर्सा–१ बाट 'ह्याट्रिक' गर्ने सपना देखिरहेका प्रदीप यादवको राजनीतिक यात्रा कुनै सिद्धान्तनिष्ठ नेताको भन्दा पनि ‘मौसमी यात्री’ को जस्तो देखिन्छ । २०५३ सालमा राप्रपाको कृपाले गाविस सचिवको जागीरबाट सार्वजनिक जीवन शुरू गरेका यादवले पछिल्लो १५ वर्षमा सायदै कुनै यस्तो दल बाँकी राखे होलान्, जहाँ उनले पाइला नटेकेका हुन् ।
उनको राजनीतिक चरित्र कति अस्थिर छ भन्ने कुरा पछिल्लो सात महिनाको घटनाक्रमले नै पुष्टि गर्छ:
- बैशाख २०८१: उपेन्द्र यादवलाई धोका दिएर अशोक राईको समूहमा सामेल भई मन्त्री पद पड्काए ।
- पुस २०८१: मन्त्री पद गुमेपछि पुन: नैतिकता बिर्सेर उपेन्द्र यादवकै काखमा फर्किए ।
- माघ २०८२: जसपा नेपालमा फर्किएको एक हप्ता पनि नबित्दै 'पार्टीको भविष्य छैन' भन्दै एमालेको शरणमा पुगे ।
मन्त्री बन्नकै लागि दल फुटाउने र निर्वाचन जित्नकै लागि हिजोका शत्रुसँग अंगालो मार्ने यादवको यो प्रवृत्तिले आम मतदातामा भने चरम निराशा छाएको छ ।
पदका लागि मरिहत्ते गर्ने मेयर सिंह
वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहको कथा पनि यादवको भन्दा फरक छैन । नेविसंघबाट राजनीति सुरु गरेका सिंहले राप्रपा हुँदै विभिन्न मधेशवादी दलको चक्कर लगाए । २०७९ को निर्वाचनमा 'एमालेको सरावगी प्रवृत्ति' विरुद्ध चर्को भाषण गरेर भोट बटुलेका सिंह, अन्ततः तिनै सरावगीले छाडेको कुर्सीमा बस्न एमालेकै झण्डा बोक्न पुगेका छन् ।
आफूलाई जिताउने गठबन्धनका दलहरू र मतदाताको भावनालाई लत्याउँदै ७ जना वडाध्यक्षसहित एमाले प्रवेश गर्नुलाई वीरगञ्जका बौद्धिक वर्गले "राजनीतिक बेइमानीको पराकाष्ठा" भनेका छन् ।
निष्ठाको अन्त्य, स्वार्थको उदय
वीरगञ्जको यो पछिल्लो राजनीतिक समीकरणले के स्पष्ट पारेको छ भने, अबको राजनीतिमा 'एजेन्डा' गौण बनेको छ र 'एरिया' जोगाउने दाउपेच मुख्य भएको छ । हिजो मधेस आन्दोलनका बेला एमालेलाई 'मधेस विरोधी' देख्ने यिनै नेताहरू आज त्यही पार्टीको सूर्य चिह्नभित्र आफ्नो भविष्य देख्न थालेका छन् ।
निर्वाचन नजिकिँदै गर्दा जनतासामु कुन मुख लिएर जाने भन्ने नैतिक संकट यी दुवै नेतामा देखिएको छ । वीरगञ्जका सचेत मतदाता अब यी 'अवसरवादी' पात्रहरूलाई मत दिन्छन् कि विवेक प्रयोग गर्छन्, त्यो भने भविष्यकै गर्भमा छ ।