वीरगञ्ज। पर्सास्थित भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख राजेशलाल कर्ण यतिबेला गम्भीर अनियमितता र आर्थिक लेनदेनको विवादमा तानिएका छन्। योजना वितरणमा व्यापक अपारदर्शिता र 'सेटिङ' गरेको आरोप सार्वजनिक भएपछि उनी विरुद्धको जनआक्रोश सडकदेखि कार्यालयको कार्यकक्षसम्म पोखिएको छ।
स्रोतका अनुसार कार्यालय प्रमुख कर्णले सरकारी नीति–नियमलाई धोती लगाउँदै बिदाको दिनसमेत कार्यालय सञ्चालन गरी चोर बाटोबाट योजनाका चिठी (कार्यादेश) वितरण गरेको पाइएको छ। यो गैरकानुनी कदम पछाडि ठूलो आर्थिक चलखेल रहेको स्थानीय ठेकेदारहरूको दाबी छ।
योजना उपलब्ध गराउने सर्तमा कुल बजेटको १० देखि १५ प्रतिशत सम्म मोटो रकम अग्रिम बुझाउनुपर्ने बाध्यता सिर्जना गरिएको। सार्वजनिक सूचना र प्रतिस्पर्धालाई उपेक्षा गर्दै बिदाको दिन सुटुक्क आफ्ना निकटका बिचौलिया र पहुँचवालालाई योजना बाँडिएको। पैसाको बलमा योजना खरिद–बिक्री हुने भएपछि निर्माण कार्यको गुणस्तरमा गम्भीर प्रश्न उठेको छ, जसले सरकारी लगानी बालुवामा पानी हुने जोखिम बढाएको छ।
कार्यालय प्रमुखको यस्तो मनोमानी विरुद्ध सोमबार स्थानीय युवाहरूले कडा प्रतिवाद गरेका छन्। आइतबारको 'गुप्त' कार्यशैलीबारे सोधपुछ गर्न कार्यालय पुगेका युवाहरूले प्रमुख कर्णलाई नभेटेपछि आक्रोश झनै चुलिएको थियो।
आफूहरू पुग्दा कार्यालय प्रमुख फरार रहेको भन्दै युवाहरूले उनको कार्यकक्षमा प्रवेश गरी कुर्सी, टेबल र नेमप्लेटमा मोबिल छर्केर विरोध जनाएका छन्। सरकारी ढुकुटीमाथि ब्रह्मलुट मच्चाउनेलाई सामाजिक बहिष्कार र कानुनी कारबाही हुनुपर्ने उनीहरूको माग छ।
जनताको करबाट सञ्चालित योजनाहरूमा यसरी खुल्लमखुल्ला आर्थिक चलखेल हुनु सुशासनको उपहास हो। १०–१५ प्रतिशत कमिसन नदिई काम नपाउने अवस्थाले इमानदार निर्माण व्यवसायी विस्थापित हुँदैछन्," एक स्थानीयले आक्रोश पोखे।
पर्सा भौतिक पूर्वाधार कार्यालयमा देखिएको यो दृश्यले प्रदेश सरकार र स्थानीय प्रशासनको अनुगमन संयन्त्र कति निरीह छ भन्ने प्रस्ट पारेको छ। योग्य र दक्ष पक्षलाई पाखा लगाएर बिचौलिया पोस्ने कर्णको कार्यशैलीले कर्मचारीतन्त्रकै बेइज्जत गरेको सरोकारवालाहरूको टिप्पणी छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्बन्धित मन्त्रालयले यस घटनालाई गम्भीरतापूर्वक लिई तत्काल छानबिन नगरे, यसले सरकारी निकायप्रतिको जनविश्वास पूर्ण रूपमा धराशायी बनाउने निश्चित छ। दोषीलाई उन्मुक्ति दिइएमा थप कडा आन्दोलन गर्ने चेतावनी समेत स्थानीयले दिएका छन्।