पर्सा । पकहाँमैनपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सार्वजनिक तथा सरकारी जग्गामा गरिएको अतिक्रमण हटाउन १५ दिने सार्वजनिक सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयद्वारा प्रकाशित उक्त सूचनामा तोकिएको समयसीमाभित्र अतिक्रमण हटाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ।
सूचनाअनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय तथा सम्बन्धित मन्त्रालयको निर्देशनका आधारमा गाउँपालिकाभित्रका सडक, खोला, नाला, ऐलानी जग्गा, पार्क, विद्यालय, पोखरी, मस्जिद, मठमन्दिर, बजार क्षेत्रलगायत सार्वजनिक प्रयोगका जग्गामा गरिएको कुनै पनि प्रकारको अतिक्रमण हटाउनुपर्ने उल्लेख गरिएको छ।
गाउँपालिकाले सार्वजनिक जग्गामा निर्माण गरिएका संरचना, टहरा, घर, घेरा वा अन्य कुनै किसिमका अवैध प्रयोगलाई १५ दिनभित्र स्वेच्छाले हटाउन निर्देशन दिएको छ। तोकिएको समयावधिभित्र अतिक्रमण नहटाइएमा गाउँपालिकाले स्वयं हटाउने र त्यसमा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिबाट असुल उपर गरिने पनि सूचनामा उल्लेख छ ।
गाउँपालिकाले यस अभियानमार्फत सार्वजनिक सम्पत्तिको संरक्षण, व्यवस्थापन र उपयोगलाई प्रभावकारी बनाउने लक्ष्य राखेको जनाएको छ। साथै, यस कार्यमा सहयोग गर्न सम्पूर्ण सरोकारवालासँग अनुरोध गरिएको छ।
