वीरगन्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ को चुनावी मैदानमा यतिबेला एउटा यस्तो दृश्य देखिँदैछ, जसले लोकतन्त्रको विडम्बनालाई गिज्याइरहेको भान हुन्छ। वर्षौंसम्म उद्योग र व्यापारको सुरक्षित घेराभित्र रमाएका अनिल रुँगटा अहिले अचानक 'जनताको मसिहा' बन्ने प्रयत्नमा छन्।
तर, हिजोसम्म सर्वसाधारणका समस्यासँग साइनो-सम्बन्ध नभएका रुँगटाको यो 'हृदय परिवर्तन' लाई पर्साका मतदाताले चुनावी नौटंकीको संज्ञा दिन थालेका छन्। उनी महानगरका चिल्ला सडकदेखि गाउँका हिलाम्मे गल्लीसम्म पुगिरहेका त छन्, तर उनको पदचापमा सेवाको भावभन्दा पनि सत्ता र शक्तिको तीव्र भोक प्रस्टै झल्किन्छ।
कुनै समय नागरिकको सुख-दुःखमा कहिल्यै नदेखिएका यी पात्रले अहिले कृषि, शिक्षा र स्वास्थ्यका समस्याको फेहरिस्त सुुनाउनु आफैँमा हास्यास्पद देखिन्छ। जानकारहरू भन्छन्— जुन समस्याको समाधानका लागि उनले कहिल्यै एउटा औँला समेत उठाएनन्, आज तिनै एजेन्डालाई चुनावी सिँढी बनाउनु उनको राजनीतिक अवसरवादको पराकाष्ठा हो।
आफ्नै उद्योगमा नेपाली युवालाई भन्दा भारतीय नागरिकलाई रोजगारीको अवसर दिएर स्वदेशी श्रमको अपमान गर्ने व्यक्तिले आज 'युवा पलायन' को चिन्ता गर्नु दोहोरो चरित्रको चरम नमुना हो।
क्षेत्र नम्बर–१ का बासिन्दाले खानेपानी र सडकका लागि पटक-पटक सडक संघर्ष गर्दा कता हराएका थिए रुँगटा? जनआन्दोलन र नागरिक दबाबका बेला पर्दापछाडि लुक्ने र चुनाव आउँदा 'जनताको साथी' भन्दै मञ्चमा गर्जिने उनको भाषणमुखी प्रवृत्तिले मतदातालाई झुक्याउने सम्भावना न्यून देखिन्छ।
उनले प्रस्तुत गरेका योजनाहरूमा न त कुनै मौलिकता छ, न त कार्यान्वयन गर्ने ठोस आधार। वास्तवमा, रुँगटाको यो सक्रियता पर्साको विकासका लागि नभई आफ्नो व्यापारिक साम्राज्यलाई राजनीतिक सुरक्षा कवच प्रदान गर्ने एउटा रणनीतिक चाल मात्र भएको आरोप लाग्न थालेको छ। चुनावी तुवाँलो हराएसँगै फेरि आफ्नै महलमा ओझेल पर्ने यस्ता 'सिजनल' नेतालाई स्वीकार गर्नु पर्साली जनताका लागि आफ्नै खुट्टामा बन्चरो प्रहार गर्नु सरह हुने निश्चित छ।