वीरगन्ज । वीरगन्ज महानगरपालिका–११ श्रीपुरस्थित कृषि औजार कारखाना पछाडिको झाझी टोलमा आफ्नै घरमा अवैध देहव्यापार सञ्चालन गराएको आरोपमा पर्सा प्रहरीले दुई पुरुष र पाँच महिलासहित ७ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको विशेष प्रहरी टोलीले स्थानीय वकिल मियाँको घरमा छापामारी गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।
स्थानीयवासीका अनुसार घरधनी वकिल मियाँ अन्सारीले लामो समयदेखि झाझी टोलस्थित आफ्नै घरलाई अवैध देहव्यापारको केन्द्र बनाउँदै आएका थिए। विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले घरधनी अन्सारी, एक जना पुरुष ग्राहक तथा पाँच महिलालाई घटनास्थलबाटै पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) हरीबहादुर बस्नेतले अवैध देहव्यापारको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्। उनका अनुसार पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखी विस्तृत विवरण संकलन तथा कानुनी कारबाहीका लागि थप अनुसन्धान भइरहेको छ।