नयाँ दिल्ली । अनुमतिबिना भारतको पूर्वोत्तर क्षेत्रमा प्रवेश गरी छिमेकी राष्ट्र म्यानमार पुगेर सशस्त्र समूहहरूलाई ड्रोन युद्धको तालिम दिएको आरोपमा भारतले ६ जना युक्रेनी र एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ। ती विदेशी नागरिकहरूलाई भारतीय प्रहरीले मार्च १३ मा देशका तीन छुट्टाछुट्टै विमानस्थलबाट पक्राउ गरेको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार, अमेरिकी नागरिकलाई कोलकाता विमानस्थलको अध्यागमन ब्युरोले, तीन युक्रेनीलाई लखनउमा र अन्य तीन जनालाई दिल्लीमा नियन्त्रणमा लिइएको थियो। उनीहरू म्यानमार जाँदै थिए वा त्यहाँबाट फर्किँदै थिए भन्ने स्पष्ट छैन।
भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले उनीहरूमाथि देशको आतंकवादविरोधी कानुन उल्लंघन गरेको आरोप लगाएको छ, र उनीहरूलाई मार्च २७ सम्म हिरासतमा राखिनेछ। स्थानीय प्रहरीले शनिबार दक्षिणी सहर कोच्चिमा रहेको कोस्ट गार्ड (तटरक्षक) मुख्यालय नजिकै ड्रोन उडाएको आरोपमा थप दुई अमेरिकी पर्यटकलाई पनि पक्राउ गरेको छ।
कोच्चि त्यही स्थान हो जहाँ भारतले गत फेब्रुअरीमा सैन्य अभ्यासमा सहभागी भएको एक इरानी जहाजका नौसैनिकहरूलाई आश्रय दिइरहेको छ। भारतले आतिथ्य प्रदान गरेको अर्को इरानी जहाजलाई युद्धको सुरुमै अमेरिकाले टार्पिडो प्रहार गरी नष्ट गरेको थियो, जसले गर्दा नयाँ दिल्ली लज्जित हुनुपरेको थियो भने दर्जनौँ इरानी नौसैनिक मारिएका थिए।
यी अमेरिकी र युक्रेनीहरू किन पक्राउ परे ? यसले म्यानमार, युक्रेन र अमेरिकासँगको भारतको सम्बन्धमा के अर्थ राख्छ ?
भारतीय सञ्चारमाध्यमका अनुसार, एनआईएद्वारा पक्राउ परेका सात विदेशी नागरिकमा अमेरिकाका म्याथ्यू आरोन भानडाइक र युक्रेनका हुर्बा पेट्रो, स्लिभियाक तारास, इभान सुकमानोभ्स्की, स्टेफान्किभ मारियन, होन्चारुक म्याक्सिम र कामिन्स्की भिक्टर रहेका छन्।
भानडाइकको व्यक्तिगत वेबसाइटका अनुसार, उनले इराक युद्ध र लिबियाको गृहयुद्धमा भाग लिएका थिए। उनी वासिङ्टन डीसीमा रहेको सन्स अफ लिबर्टी इन्टरनेशनल नामक परामर्शदात्री कम्पनीका संस्थापक हुन्।
संस्थाको वेबसाइटमा उल्लेख भएअनुसार यसले जोखिममा रहेका समुदायहरूलाई आतंकवादी र विद्रोही समूहहरूबाट आफ्नो रक्षा गर्न सक्षम बनाउन निःशुल्क सुरक्षा परामर्श र तालिम सेवाहरू प्रदान गर्दछ। यस कम्पनीले सन् २०२२ र २०२३ को बिचमा युक्रेनमा पनि काम गरेको थियो, जहाँ यसले युक्रेनी सेनालाई गैर-घातक उपकरणहरू प्रयोग गर्ने विषयमा तालिम र सल्लाह दिएको थियो।
पक्राउ परेका युक्रेनी नागरिकहरूको बारेमा भने धेरै जानकारी प्राप्त छैन। ती विदेशी नागरिक कहिले भारत प्रवेश गरे र कहिले म्यानमार पुगे भन्ने एनआईएले खुलाएको छैन।
कोच्चिमा पक्राउ परेका दुई अमेरिकी पर्यटकको पहिचान क्यालिफोर्नियाका ३२ वर्षीया केटी मिशेल फेल्प्स र ३५ वर्षीय क्रिस्टोफर रोस हार्वेको रूपमा भएको छ।
- भारतले म्यानमार प्रकरणका संदिग्धहरूलाई किन पक्राउ गर्यो ?
ती सात जनालाई सुरुमा भारतको पूर्वोत्तर राज्य मिजोरममा वैध अनुमतिबिना प्रवेश गरेको र त्यहाँबाट अवैध रूपमा म्यानमार प्रवेश गरेको आरोपमा एनआईएले नियन्त्रणमा लिएको थियो। भारतले करिब १,६४० किलोमिटर लामो म्यानमारसँग सीमा जोडिएका पूर्वोत्तर राज्यहरूमा प्रवेश गरेको आरोपमा विदेशी नागरिकलाई पक्राउ गरेको यो पहिलो घटना भने होइन। सन् २०२५ को अप्रिलमा मिजोरममा एक बेल्जियन फोटो पत्रकारलाई वैध यात्रा कागजातबिना राज्यमा प्रवेश गरी म्यानमार गएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।
मार्च १६ मा, एनआईएले नयाँ दिल्लीको एक अदालतलाई ती सात विदेशी नागरिक म्यानमारको सैन्य सरकारविरुद्ध लडिरहेका सशस्त्र समूहहरूलाई ड्रोन युद्धको तालिम दिन त्यहाँ गएको बताएको छ।
द इन्डियन एक्सप्रेस दैनिकका अनुसार, एनआईएले आरोपितहरू जातीय सशस्त्र समूहहरूको प्रयोगका लागि भारत हुँदै युरोपबाट म्यानमारमा भारी मात्रामा ड्रोनहरू अवैध रूपमा आयात गर्ने कार्यमा संलग्न रहेको बताएको छ। एजेन्सीले यी समूहहरूले हतियार आपूर्ति गरेर र आतंकवादी गतिविधिहरूमा तालिम दिएर भारतीय विद्रोही समूहहरूलाई पनि सहयोग गरेको आरोप लगाएको छ।
उत्तरी म्यानमारको चिन राज्यसँग सीमा जोडिएका भारतका मिजोरम र मणिपुर जस्ता पूर्वोत्तर राज्यहरूको इतिहास जातीय तनावले भरिपूर्ण छ। मणिपुरको कुकी नेशनल आर्मी (केएनए) जस्ता राज्यका जातीय समूहहरू म्यानमारमा पनि सक्रिय छन् र त्यहाँको सैन्य सरकारविरुद्ध सक्रिय रूपमा लडिरहेका छन्।
त्यसैले, विशेषगरी सन् २०२१ को सैन्य ‘कू’ पछि भारतले म्यानमारसँग सीमा जोडिएका केही पूर्वोत्तर राज्यहरूमा प्रवेश गर्नुअघि विदेशीहरूले विशेष अनुमति लिनुपर्ने नियम बनाएको छ।
भारत-म्यानमार सीमा क्षेत्रको राजनीतिक र सुरक्षा मामिलाका विशेषज्ञ अङ्शुमान चौधरीले अल जजिरालाई बताएअनुसार भारत सरकारले भारत-म्यानमार सीमालाई मुख्य जोखिमको रूपमा हेर्छ, विशेषगरी यो तारबाररहित भएका कारणले।
‘प्राविधिक रूपमा, फ्री मुभमेन्ट रेजिम (एफएमआर) अन्तर्गत वैध भिसा वा अनुमतिबिना सीमा पार गर्ने जो कोहीलाई कानुनी कारबाही हुन सक्छ। विशेषगरी विदेशी पत्रकारहरूको हकमा निगरानी उच्च हुने गर्छ,’ उनले भने।
भारतबाट म्यानमार प्रवेश गरेर त्यहाँको द्वन्द्वको रिपोर्टिङ गर्ने वा त्यहाँका प्रतिरोधी बलहरूलाई समर्थन गर्ने विदेशीहरूलाई भारतले आफ्नै सुरक्षा चासोको रूपमा भने नहेर्ने उनले प्रष्ट पारे। ‘यी बलहरूको भारतसँग खासै सरोकार छैन र उनीहरू म्यानमारको सैन्य सरकारविरुद्ध आफ्नै युद्ध लडिरहेका छन्,’ चौधरीले उल्लेख गरे, ‘तर भारतीय राज्यले उनीहरूले विद्रोही नियन्त्रित क्षेत्रमा जान भारतीय भूमि प्रयोग गर्ने कार्यलाई आफ्नो सम्प्रभुताको उल्लंघन र सुरक्षा जोखिमको रूपमा हेर्छ। म्यानमारको प्रतिरोधी बलहरूलाई उनीहरूको समर्थनले अप्रत्यक्ष रूपमा भारत-विरोधी विद्रोहीहरूलाई बलियो बनाउन सक्छ भन्ने चिन्ताले यो खतराको अनुभूतिलाई अझ बढाउँछ, यद्यपि त्यसको प्रमाण भने न्यून छ।’
- यसमा युक्रेन किन तानियो ?
हालैका वर्षहरूमा युक्रेनले भारतसँगको आफ्नो सम्बन्धलाई गहिरो बनाएको छ तर मानवअधिकार समूहहरूले उसलाई म्यानमारको सैन्य सरकारलाई समर्थन गरेको आरोप पनि लगाएका छन्। तर, यसको ठिक विपरीत छ जना युक्रेनीहरू भने सरकारको विरोध गरिरहेका सशस्त्र समूहहरूलाई समर्थन गरेको आरोपमा पक्राउ परेका छन्।
सेप्टेम्बर २०२१ मा, सैन्य कू भएको केही महिनापछि म्यानमारमा मानवअधिकार उल्लंघनको विषयमा काम गर्ने समूह जस्टिस फर म्यानमारले युक्रेनमाथि हतियार निर्यात र प्रविधि हस्तान्तरणमार्फत म्यानमारको सेनालाई समर्थन गरेको आरोप लगाएको थियो।
तर मार्च १९ को एक विज्ञप्तिमा युक्रेनले ‘आतंकवादी गतिविधिहरूलाई समर्थन गर्ने कार्यमा युक्रेनी राज्यको सम्भावित संलग्नताको बारेमा कुनै पनि आक्षेपलाई’ अस्वीकार गरेको छ र भारतलाई आफ्ना नागरिकहरू रिहा गर्न पनि आग्रह गरेको छ।
युक्रेनको विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘युक्रेन एउटा यस्तो राज्य हो जसले दैनिक रूपमा रुसी आतंकको परिणाम भोगिरहेको छ र यही कारणले गर्दा उसले सबै रूपको आतंकवादविरुद्ध लड्न सैद्धान्तिक र सम्झौताहीन अडान लिन्छ।’
‘हामी यो पनि जोड दिन चाहन्छौँ, भारतको सुरक्षामा खतरा पुर्याउन सक्ने कुनै पनि गतिविधिमा युक्रेनको कुनै चासो छैन... बरु, यो रुस हो, जसले एक आक्रमणकारी राज्यको रूपमा हरेक परिस्थितिमा मित्र राष्ट्रहरू - युक्रेन र भारतको बिचमा फाटो ल्याउने प्रयास गर्छ,’ विदेश मन्त्रालयले थप्यो।
सञ्चारमाध्यमका रिपोर्टहरूले यी गिरफ्तारीहरूमा रुसको हात हुन सक्ने संकेत गरेका छन्।
एनआईए अधिकारीहरूले जर्मनीको अन्तर्राष्ट्रिय प्रसारक डीडब्ल्यु न्युजलाई बताएअनुसार रुसी अधिकारीहरूले ती विदेशी नागरिकहरूको गतिविधिको बारेमा गुप्तचर जानकारी साझा गरेको हुन सक्ने सम्भावना छ।
चौधरीले अल जजिरालाई बताएअनुसार म्यानमारको सैन्य सरकारसँग रुसको बढ्दो सम्बन्धलाई हेर्दा यो तार्किक देखिन्छ। ‘मस्कोको दृष्टिकोणबाट हेर्दा, भारत-म्यानमार सीमा क्षेत्रमा युक्रेनी ड्रोन विशेषज्ञहरूको उपस्थिति उजागर गर्दा यसले ‘किभले विश्वभरका अस्थिर क्षेत्रहरूलाई थप अस्थिर बनाउन योगदान गरिरहेको छ’ भन्ने रुसी दृष्टिकोणलाई पनि पुष्टि गर्छ। यसले विश्वको जनमतलाई युक्रेन र अमेरिका जस्ता उसका पश्चिमी सहयोगीहरूको विरुद्धमा मोड्न सक्छ,’ उनले भने।
रुसको विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले युक्रेनमाथि ‘यस घटनालाई लुकाउन र स्पष्ट रूपमा यस क्षेत्रको अवस्थालाई अस्थिर बनाउन डिजाइन गरिएको आफ्ना नागरिकहरूको शंकास्पद गतिविधिहरूलाई गोप्य राख्न’ प्रयास गरेको आरोप लगाइन्।
मार्च २० को एक विज्ञप्तिमा, जाखारोभाले भनिन्, ‘यस घटनाले स्पष्ट रूपमा देखाएको छ कि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको नव-नाजी शासन विश्वव्यापी रूपमा अस्थिरता निर्यात गर्ने प्रमुख केन्द्र बनेको छ।’
यसैबिच, अमेरिकाले आफ्ना नागरिक पक्राउ परेको विषयमा हालसम्म कुनै टिप्पणी गरेको छैन। एक अमेरिकी दूतावासका प्रवक्ताले रोयटर्स समाचार एजेन्सीलाई बताएअनुसार भारतस्थित अमेरिकी दूतावास यस गिरफ्तारीको बारेमा जानकार छ तर गोपनीयताको कारणले यस विषयमा टिप्पणी गर्न सक्दैन।
- कोच्चिमा अमेरिकी पर्यटक किन पक्राउ परे?
दक्षिणी भारतीय राज्य केरलाको कोच्चि सहर संवेदनशील भारतीय नौसेना र कोस्ट गार्ड सुविधाहरूको केन्द्र हो।
अमेरिकी पर्यटकहरूले ड्रोन उडाएको भनिएको मुख्यालय नजिकैको क्षेत्रलाई अधिकारीहरूले ‘रेड जोन’ (संवेदनशील क्षेत्र) को रूपमा वर्णन गर्छन् जहाँ ड्रोन उडाउन पूर्ण रूपमा निषेध गरिएको छ।
तर यी गिरफ्तारीहरू यस्तो समयमा पनि भएका छन् जब कोच्चिले इरानी युद्धपोत आइआरआईएन लाभानका १८० भन्दा बढी चालक दलका सदस्यहरूलाई आतिथ्य प्रदान गरिरहेको छ। इरानमाथि अमेरिका-इजरायल युद्ध सुरु भएपछि मार्चको सुरुमा यसलाई आपतकालीन डकिङ अनुमति दिइएको थियो।
अर्को इरानी युद्धपोत आइआरआईएन डेनालाई युद्धको सुरुवातमै श्रीलंकाको नजिक हिन्द महासागरमा अमेरिकी पनडुब्बीले आक्रमण गरेको थियो। उक्त जहाज भारतले आयोजना गरेको नौसैनिक अभ्यासबाट स्वदेश फर्किंदै थियो। आइआरआईएन लाभान पनि सोही अभ्यासको एक हिस्सा थियो।
यी गिरफ्तारीले अमेरिका, युक्रेन र म्यानमारसँगको भारतीय सम्बन्धमा के अर्थ राख्छन् ?
चौधरीका अनुसार यी गिरफ्तारीहरूले नयाँ दिल्ली र नेपिटअस्थित म्यानमार सरकारबिचको विश्वासलाई बलियो बनाउन मद्दत गर्न सक्छ, विशेषगरी म्यानमार सरकारले सीमा क्षेत्रमा प्रतिरोधी बलहरूबाट बढ्दो सैन्य चुनौती सामना गरिरहेको परिप्रेक्ष्यमा।
यद्यपि, उनले अल्पकालमा यी गिरफ्तारीहरूले भारत-युक्रेन सम्बन्धमा प्रतिकूल असर पार्न सक्ने बताए। ‘दुवै पक्षले यस मुद्दालाई व्यवस्थापन गर्न भित्री च्यानलहरूमा भर पर्नेछन् - विशेषगरी युक्रेनले यस घडीमा भारतलाई चिढाउने जोखिम उठाउन सक्दैन,’ चौधरीको विश्वास छ ।
यस घटनाले भारत र अमेरिकाबिचको सम्बन्धलाई गम्भीर असर नपार्ने उनले भविष्यवाणी गरे, किनकि वर्तमान अमेरिकी प्रशासनसँग म्याथ्यू भानडाइकको सम्बन्ध स्पष्ट छैन।
‘वासिङ्टन डीसीले उनलाई नयाँ दिल्लीसँगको द्विपक्षीय सम्बन्ध बिगार्न सक्ने जति महत्त्वपूर्ण व्यक्तित्व नमान्न सक्छ। भारत-अमेरिका सम्बन्ध पहिलेदेखि नै केही तनावपूर्ण छ तर बिस्तारै सामान्य अवस्थामा फर्किरहेको देखिन्छ,’ उनले भने।