पर्सा । राष्ट्रिय स्वतन्त्र पार्टी पकाहाँ मैनपुर गाउँपालिकाको अधिवेशन विवादका कारण स्थगित भएको छ ।
आजका लागि तय गरिएको अधिवेशनमा वडा कमिटी गठन नै नभएको कमिटीलाई मान्यता दिने गरी प्रक्रिया अघि बढाइएको भन्दै कार्यकर्ताहरूले विरोध जनाएपछि विवाद उत्पन्न भएको हो ।
विशेषगरी गाउँपालिकाको वडा नं. १ मा कमिटी गठन नभएको अवस्थामा पनि गठन भएको दाबी गर्दै अधिवेशन प्रक्रिया अघि बढाइएको आरोप लगाइएको छ । सो विषयलाई लिएर सहभागीहरूबीच चर्काचर्की तथा विवाद भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
विवाद बढ्दै गएपछि पकाहाँ मैनपुर गाउँपालिका वडा नं. २ मधुबनीस्थित पोखरीको डिलमा सञ्चालन भइरहेको बैठक अव्यवस्थित बनेको थियो । सो क्रममा बैठकको माइनुटसमेत पोखरीमा फालिएको बताइएको छ ।
विवाद समाधान हुन नसकेपछि अधिवेशन अन्ततः स्थगित गरिएको जनाइएको छ । पार्टीका स्थानीय नेताहरूले आन्तरिक छलफलपछि नयाँ मिति तय गरिने बताएका छन् ।