पर्सा । प्रेस सेन्टर नेपाल पर्साले स्थापना गरेको कृष्णासेन इच्छुक स्मृति पुरस्कार तथा क्रियाशील पत्रकारिता पुरस्कार शनिबार आयोजित विशेष समारोहमा प्रदान गरेको छ।
यस वर्षको कृष्णासेन इच्छुक स्मृति पुरस्कारबाट प्रेस सेन्टर नेपाल मधेश प्रदेशका अध्यक्ष निरज पिठाकोटे तथा क्रियाशील पत्रकारिता पुरस्कारबाट प्रेस सेन्टर पर्साका सदस्य बलिराम यादव सम्मानित भएका छन्। उनीहरूलाई प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरी ले जनही २१ हजार रुपैयाँ नगद, सम्मानपत्र र दोसल्ला प्रदान गरी सम्मानित गर्नुभयो।
कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघका उपाध्यक्ष गोविन्द देवकोटा, नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, प्रेस सेन्टर नेपालकी केन्द्रीय सचिव सुनिता बराल, सहायक प्रमुख जिल्ला अधिकारी कृष्णा थापा तथा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा वक्ताहरूले प्रेस स्वतन्त्रता, पत्रकारिताको विकास र सामाजिक उत्तरदायित्व निर्वाहमा पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको बताएका थिए। विभिन्न सञ्चारकर्मी, पत्रकार संगठनका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको कार्यक्रम प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा सम्पन्न भएको थियो।