वीरगञ्ज । वीरगञ्जमा आयोजना हुन लागेको ‘भविष्य मेला २०२६’ को दोस्रो संस्करणमाथि गम्भीर प्रश्नहरू उठ्न थालेका छन्। पर्सा, बारा र रौतहट जिल्लाका एसइई दिएका विद्यार्थीलाई लक्षित गरिएको भनिएको उक्त मेला वास्तविक शैक्षिक मार्गदर्शनभन्दा बढी व्यापारिक स्वार्थ पूर्तिको माध्यम बन्न सक्ने आशंका बलियो बन्दै गएको हो।
आगामी वैशाख ५ गते सिद्धार्थ दियालो होटलमा आयोजना गरिने भनिएको कार्यक्रममा हजारौं विद्यार्थी सहभागी हुने दाबी गरिए पनि कार्यक्रमको स्पष्ट उद्देश्य, प्रभावकारिता तथा पारदर्शितामाथि गम्भीर शंका व्यक्त गरिएको छ। सरोकारवालाहरूका अनुसार यस्ता मेलाले विद्यार्थीलाई सही मार्गदर्शन दिनुभन्दा पनि निजी कलेजहरूको प्रचारप्रसार गर्ने थलोको रूपमा काम गर्ने प्रवृत्ति बढ्दो छ।
आयोजकले ‘परिवर्तनकारी मञ्च’को रूपमा प्रस्तुत गरे पनि मेलामा कलेजहरूको आक्रामक मार्केटिङ, छात्रवृत्तिको लोभ देखाउने रणनीति तथा विभिन्न उपहार वितरणजस्ता गतिविधिले कार्यक्रमलाई शैक्षिकभन्दा बढी व्यावसायिक बनाएको आरोप लागेको छ। मोबाइल, एयरबड्स, पावर बैंक जस्ता आकर्षक उपहारमार्फत विद्यार्थीलाई प्रभावित पार्ने प्रयासले उनीहरूको निर्णय क्षमतामा नकारात्मक असर पार्ने खतरा औंल्याइएको छ।
शिक्षाविद्हरूका अनुसार यस्ता मेलामा दिइने जानकारी प्रायः एकपक्षीय हुने गर्दछ, जहाँ कलेजहरूले आफ्नो फाइदालाई प्राथमिकता दिन्छन्। यसले विद्यार्थीलाई गहिरो अध्ययन, रुचि र क्षमताको मूल्याङ्कनबिना नै निर्णय लिन प्रेरित गर्ने जोखिम बढाउँछ। “मेलामा पाइने सामान्य जानकारीका आधारमा जीवनभर प्रभाव पार्ने विषय छनोट गर्नु अत्यन्त जोखिमपूर्ण हुन्छ,” एक शिक्षाविद्ले बताए।
अर्कोतर्फ, निःशुल्क डिम्याट खाता, सिम कार्ड वितरणजस्ता कार्यक्रमले पनि मेलाको वास्तविक उद्देश्यप्रति शंका उत्पन्न गरेको छ। यस्ता सेवा विद्यार्थीको शैक्षिक आवश्यकतासँग प्रत्यक्ष सम्बन्धित नभएको भन्दै आलोचना भइरहेको छ। अभिभावकहरूले समेत यस्ता गतिविधिले विद्यार्थीको ध्यान मुख्य उद्देश्यबाट विचलित गर्ने चिन्ता व्यक्त गरेका छन्।
झनै चिन्ताजनक पक्ष के छ भने, यस्ता मेलाहरूले गाउँघरका विद्यालयहरूको उपेक्षा गर्दै महँगो शुल्कमा शहरका कलेजतर्फ विद्यार्थीलाई आकर्षित गर्ने प्रवृत्तिलाई प्रोत्साहन गरिरहेका छन्। यसले ग्रामीण क्षेत्रमा रहेका शैक्षिक संस्थाहरूको अस्तित्व नै संकटमा पार्ने खतरा बढाएको शिक्षाविद्हरूको भनाइ छ।
गत वर्षको पहिलो संस्करण सफल भएको दाबी गरिए पनि त्यसको वास्तविक उपलब्धि, विद्यार्थीले पाएको प्रत्यक्ष लाभ तथा दीर्घकालीन प्रभावबारे कुनै स्पष्ट प्रतिवेदन सार्वजनिक गरिएको छैन। यसले आयोजकको दाबीप्रति अझ बढी अविश्वास सिर्जना गरेको छ।
यद्यपि आयोजक पक्षले भने मेलाले शैक्षिक सचेतना अभिवृद्धि गर्ने दाबी गर्दै आएको छ। तर आलोचकहरूका अनुसार पारदर्शिता, उत्तरदायित्व र विद्यार्थी–केन्द्रित दृष्टिकोणबिना यस्ता कार्यक्रम केवल व्यापारिक स्वार्थको माध्यम बन्ने खतरा उच्च रहेको छ।
यस अवस्थामा अभिभावक तथा विद्यार्थीलाई यस्ता मेलामा सहभागी हुँदा देखाइने आकर्षणभन्दा टाढा रहँदै प्राप्त जानकारीको गहिरो मूल्याङ्कन गर्न र आफ्नो वास्तविक आवश्यकता, रुचि तथा क्षमताका आधारमा मात्र निर्णय लिन आग्रह गरिएको छ।