वीरगञ्ज । पर्साको जिराभावानी गाउँपालिका–४ मा वडाध्यक्ष राजेश्वर दास थारुमाथि एक महिलामाथि कुटपिट तथा जबरजस्ती करणी प्रयास गरेको गम्भीर आरोप सार्वजनिक भएपछि स्थानीय क्षेत्र तनावग्रस्त बनेको छ।
पीडित महिला सुगान्धि देवीका अनुसार वडाध्यक्ष थारु जबरजस्ती घरभित्र प्रवेश गरी आफूलाई कुटपिट गर्नुका साथै अनुचित व्यवहार गर्न खोजेका थिए। उनले घटनापछि आफू असुरक्षित महसुस गरिरहेको बताउँदै दोषीमाथि तत्काल कडा कारबाहीको माग गरेकी छन्।
पीडित पक्षको भनाइ अनुसार जमिन सम्बन्धी विवादलाई आधार बनाएर वडाध्यक्षले दबाब सिर्जना गर्ने नियतले यस्तो कार्य गरेको आरोप लगाइएको छ। “हामीलाई डर देखाएर जमिन कब्जा गर्न खोजिएको हो,” पीडित पक्षले दाबी गरेको छ।
स्थानीय बासिन्दाहरूले समेत घटनालाई गम्भीर रूपमा लिँदै निष्पक्ष छानबिन र पीडितलाई न्याय दिनुपर्ने माग गरेका छन्। घटनापछि गाउँमा आक्रोश बढ्दै गएको छ भने जनप्रतिनिधिको आचरणमाथि प्रश्न उठ्न थालेको छ।
यता, वडाध्यक्ष थारुले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन्। तर पीडित पक्षले भने सत्य तथ्य बाहिर ल्याउन र न्याय प्राप्त गर्न कानुनी बाटो अपनाउने तयारी गरिरहेको जनाएको छ।
यस घटनाले स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी र आचरणप्रति गम्भीर प्रश्न खडा गरेको छ। सरोकारवाला निकायले निष्पक्ष छानबिन गरी सत्य बाहिर ल्याउनुपर्नेमा जोड दिइएको छ ।
यो कुरा बाहिर आएसँगै वडाध्यक्ष नजिक व्यक्तिहरूले गाउँघरमा दबाब सृजना गर्नुका साथै न्यायालयले निर्दोष साबित गरे जस्तै वडा अध्यक्ष निर्दोष भएको ढोल पिटिरहेको छन् भने सामाजिक सञ्जालमा समेत वडा अध्यक्ष पक्षमा जथाभावी कुरा लेखिरहेका छन् ।