पर्सा । पर्सागढी नगरपालिका वडा नं. ९, टोल मनवा बजारमा संचालित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) बडेर्वाको आयोजनामा वार्षिक नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका नि-वर्तमान अध्यक्ष दुर्गा लामिछानेको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरिएको हो ।
उत्कृष्ट विद्यार्थीलाई साइकल र शैक्षिक सामग्री वितरण
कार्यक्रममा कक्षा ९ (प्राविधिक धार) मा अध्ययनरत छात्रा स्वेता यादवले ३.९७ जीपीए प्राप्त गरी विद्यालय प्रथम हुन सफल भएकी छिन् । उनलाई प्रोत्साहन स्वरूप विद्यालयको तर्फबाट एक थान साइकल पुरस्कार प्रदान गरिएको प्रधानाध्यापक चेतमन प्रसाद दासले बताएका छन ।
यसैगरी, बाल विकासदेखि कक्षा ९ सम्मका प्रत्येक कक्षाबाट उत्कृष्ट स्थान हासिल गर्ने ४/४ जनाका दरले कुल ४० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा स्टेसनरी वितरण गरिएको छ ।
शिक्षक र अभिभावक सम्मानित
विद्यालयको शैक्षिक गतिविधिमा उत्कृष्ट योगदान पुर्याउने ३० जना शिक्षक-शिक्षिकाहरूलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा बालेश्वर चौधरी, सरोज चौधरी, लक्ष्मी ढकाल, निरा पौडेल, सुरेन्द्र गरौ, श्याम खवास, ममता महतो, रुबी चौधरी लगायत रहेका छन् । उनीहरूलाई गम्छा, फूलमाला र डायरीसहित सम्मान गरिएको थियो । साथै, विद्यालयको विकासमा सहयोग पुर्याउने अभिभावक र शिक्षाप्रेमीहरूलाई पनि प्रशंसा-पत्रले सम्मान गरिएको छ ।
वक्ताहरूको भनाइ
कार्यक्रममा बोल्दै शिक्षाविद् एवम् पूर्व प्रधानाध्यापक भागवत प्रसाद थारुले प्राविधिक शिक्षाले नै समाजको मुहार फेर्ने बताउनुभयो । उहाँले भन्नुभयो, "विद्यार्थीको जग बलियो बनाउन विद्यालय र अभिभावकको उत्तिकै भूमिका रहन्छ, आजको नतिजाले विद्यालयको मिहिनेत झल्काएको छ ।"
शिक्षा पत्रकार जिल्ला अध्यक्ष प्रमोद यादवले विद्यालयको प्रगतिप्रति खुसी व्यक्त गर्दै शैक्षिक गुणस्तरमा यो विद्यालयले जिल्लामै छुट्टै पहिचान बनाएको बताउनुभयो ।
प्रधानाध्यापक चेतमन प्रसाद चौधरीले सबैको सामूहिक प्रयासले गर्दा नै शैक्षिक सफलता प्राप्त भएको बताउँदै आगामी दिनमा प्रविधिमैत्री शिक्षामा अझै जोड दिने प्रतिबद्धता जनाउनुभयो । अभिभावकको साथ सहयोग विद्यालयको लागि उल्लेखनीय सहयोग हुने बताएका छन् ।
अतिथि र सहभागीहरू
कार्यक्रममा पर्सागढी वडा नं. १ का वडा अध्यक्ष राजकुमार खवास, मावि शिक्षक बालेश्वर चौधरी, समाजसेवी बृजमोहन चौधरी, कृष्ण प्रसाद तिवारी,वडा सदस्य हृदयनारायण गरौं लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सहायक प्रधानाध्यापक लक्ष्मी ढकालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको उद्घोषण राम विलाश साहले गर्नुभएको थियो ।