बाजुरा। कर्णाली करिडोर अन्तर्गत बाजुराको जगन्नाथ गाउँपालिका–६ लैफु डाँडामा एक्साभेटर दुर्घटना हुँदा एक किशोरको घटनास्थलमै मृत्यु भएको छ।
सडक मर्मतका लागि परिचालित एक्साभेटर आइतबार बिहान करिब ७ बजेको समयमा सडकबाट करिब २०० देखि ३०० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर जगन्नाथ गाउँपालिका–६ का १८ वर्षीय महेश रावलको ज्यान गएको हो।
दुर्घटनापछि एक्साभेटर चालक भागेका थिए भने रावल भने सवारीसाधनसँगै खसेका थिए। चालक केशव विष्टलाई प्रहरीले कालीकोटबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनापछि प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले झण्डै ७ देखि ८ घण्टाको कठिन प्रयासपछि शव घटनास्थलबाट निकालेको हो। दुर्गम भौगोलिक अवस्था र भीरका कारण उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार माटो पन्छाउने क्रममा एक्साभेटर अनियन्त्रित भई भीरबाट खसेको हो। उनका अनुसार उद्धार टोलीलाई पनि घटनास्थलसम्म पुग्न र शव निकाल्न लामो समय लागेको थियो।
मृतक रावलको शव पोस्टमार्टमका लागि मार्तडी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।