क्यान्सर नाम यति डरलाग्दो छ कि यसको सङ्केतले पनि मानिसहरूलाई डर लाग्छ । त्यसैले धेरैजसो मानिसहरू शरीरमा हुने परिवर्तनहरूलाई हल्का रूपमा लिन्छन् र क्यान्सर जस्तो रोगबारे सोच्नै सक्दैनन् । मानिसहरू प्रायः सोच्छन् कि मुखको क्यान्सर सुर्तीजन्य पदार्थ वा गुट्खा सेवन गर्नेहरूमा मात्रै हुन्छ ।
तर यो कुरा सत्य होइन; खराब जीवनशैलीका कारण पनि क्यान्सर कोषहरू बन्न सक्छन् । यद्यपि, आत्तिनु पर्दैन । आजको यस लेखमा हामीले शरीरले पहिले नै दिने यसका चेतावनी सङ्केतहरूबारे कुराकानी गर्नेछौँ । यी सङ्केतहरूलाई घरमै पनि पहिचान गर्न सकिन्छ ।
रातो वा सेतो दाग
तपाईँले सिसामा हेरेर आफ्नो मुख भित्र कुनै सेतो वा रातो दागहरू छन् कि छैनन् भनेर हेर्न सक्नु हुन्छ । यदि छन् भने ती कति समयदेखि छन् ? पत्ता लगाउनुहोस्, किनकि यो क्यान्सरको सङ्केत हुन सक्छ ।
२ हप्ताभन्दा बढी समयसम्म रहने घाउ
यदि २ हप्ताभन्दा बढी समयदेखि मुखमा अल्सर वा घाउ भएको छ भने, यसलाई बेवास्ता नगर्नुहोस् । यस्तो घाउ निको भएपछि पनि उही क्षेत्रमा फेरि देखा पर्यो भने, यसको जाँच गराउन जरुरी छ । यो क्यान्सरको सङ्केत वा प्रारम्भिक सङ्केत हुन सक्छ ।
छाला सेतो वा बाक्लो हुनु
यदि तपाईँले मुखमा सुर्तीजन्य पदार्थ जलेको ठाउँ नजिकै रातो वा सेतो दाग देख्नुभयो भने, यो चिन्ताजनक हुन सक्छ । मुखमा बाक्लो पत्र वा सुन्निएको ठाउँ देखियो वा पीडा महसुस भइरहेको छ भने पनि डाक्टरलाई भेट्नु पर्छ । यो क्यान्सरको प्रारम्भिक सङ्केत हुन सक्छ, जसको प्रारम्भिक उपचार गरेमा रोक्न सकिन्छ ।
मुख कम खुल्नु
क्यान्सर भएको छ भने मुख ठुलो खोल्न सकिँदैन । आँ गर्दा खेरि मुख थोरै मात्र खुल्छ अनि यसो गर्दाखेरि निकै पीडा पनि हुन्छ । तपाईंमा पनि यस्तै लक्षण देखिएको छ भने आफ्नो डाक्टरसँग कुरा गर्नुपर्छ । मुखको जाँच गराउनुहोस् अनि पूर्ण उपचार प्राप्त गराउनुहोस् ।