महोत्तरी । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह सम्पन्न भएको छ। समारोहमा विभिन्न शैक्षिक कार्यक्रम पूरा गरेका ४३ जना विद्यार्थी औपचारिक रूपमा दीक्षित भएका छन्।
दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका कुलपति तथा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि दक्ष चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी उत्पादन आवश्यक रहेको बताउनुभयो।
स्वास्थ्य शिक्षालाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले दक्ष जनशक्ति उत्पादनमार्फत प्रदेशको स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउने लक्ष्यका साथ सरकार अघि बढिरहेको स्पष्ट पार्नुभयो।
मुख्यमन्त्री यादवले सीमित स्रोत–साधन र विभिन्न चुनौतीका बीच प्रतिष्ठानले पहिलो दीक्षान्त समारोह आयोजना गर्न सफल हुनु प्रदेश सरकारका लागि गौरवको विषय भएको बताउनुभयो। प्रतिष्ठानलाई सुविधासम्पन्न र गुणस्तरीय शैक्षिक संस्थाका रूपमा विकास गर्न प्रदेश सरकारले आवश्यक सहयोगमा कुनै कमी हुन नदिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
प्रतिष्ठानलाई शिक्षण, अनुसन्धान तथा नवप्रवर्तनको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्न आगामी दिनमा नयाँ योजना र कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो।
कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा. अङ्कुर साहले शिक्षण, अनुसन्धान र स्वास्थ्य सेवामार्फत राष्ट्रलाई दक्ष स्वास्थ्य जनशक्ति उपलब्ध गराउने उद्देश्यका साथ प्रतिष्ठान अघि बढिरहेको बताउनुभयो।
विभिन्न चुनौतीका बाबजुद पहिलो दीक्षान्त समारोह आयोजना गर्न सफल हुनु संस्थाका लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै उहाँले दीक्षित विद्यार्थीलाई समाज, राष्ट्र र मानव सेवाप्रति समर्पित भएर पेशागत जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो।
यस वर्षको दीक्षान्त समारोहमा ब्याचलर इन नर्सिङ साइन्स (बीएनएस) प्रथम ब्याचका १३, दोस्रो ब्याचका १२ र तेस्रो ब्याचका १५ गरी ४० जना विद्यार्थी दीक्षित भएका छन्। यस्तै, एमडी/एमएस कार्यक्रममा एक जना, ब्याचलर इन पब्लिक हेल्थ (बीपीएच) कार्यक्रममा एक जना र अन्य कार्यक्रमबाट एक जना गरी कुल ४३ जना विद्यार्थी दीक्षित भएको आयोजकले जनाएको छ।