वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकको कार्यकालमा प्रहरी संगठनकै प्रतिष्ठा धुलीसात पार्ने शृङ्खलाबद्ध काण्डहरू सार्वजनिक भएका छन्। कानुन कार्यान्वयन गराउने तालुक अड्डाका प्रमुख एसपी पाठककै प्रत्यक्ष संरक्षण, लाचारी र मिलेमतोमा पर्सा प्रहरीभित्र चोरीका सवारी साधन प्रयोग गर्नेदेखि प्रहरी प्रधान कार्यालयको आदेश समेत लत्याएर समानान्तर 'असुली र सरुवा आतंक' चलाइएको छ।
अहिले पर्सा प्रहरीभित्र चेन अफ कमाण्ड पूर्ण रूपमा ध्वस्त भएको छ भने इमानदार प्रहरी कर्मचारीहरू पाखा लगाइएका छन्।
वरिष्ठ सई लोकेन्द्र पण्डितको दबदबा: एसपी पाठक लाचार, पण्डितकै इशारामा चल्छ पर्सा प्रहरी
पर्सा प्रहरीमा सरुवा भएर आएका एसपी सुदीपराज पाठक निमित्त नायक मात्र बनेका छन्। जिल्लाको वास्तविक कमाण्ड उनका विश्वासपात्र मानिने वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) लोकेन्द्र पण्डितले चलाइरहेको स्रोतको दाबी छ।
"पर्सा प्रहरीमा अहिले कसलाई कुन जिम्मेवारी दिने र कसलाई कहाँ लखेट्ने भन्ने कुरा एसपी पाठकले होइन, वरिष्ठ सई पण्डितले तय गर्छन्। जिल्लामा पण्डितले जे भन्यो, त्यही नै अन्तिम निर्णय हुने गरेको छ," जिल्लाकै एक प्रहरी अधिकृतले नाम नखुलाउने सर्तमा बताए।
यसको ज्वलन्त उदाहरण हो— **मुद्दा शाखाको विवाद।**
वरिष्ठ सई पण्डितले आफ्नै ब्याजी रहेका वरिष्ठ सई कृष्ण अधिकारीलाई काजमा पर्सा बोलाएर शक्तिशाली मानिने मुद्दा शाखाको जिम्मेवारी सुम्पिएका छन्। मुद्दा शाखामा कानुनतः प्रहरी निरीक्षक (इन्स्पेक्टर) को नेतृत्व रहने भए पनि त्यहाँ कार्यरत इन्स्पेक्टर केवल 'रबर स्ट्याम्प' मात्र बनेका छन्। पण्डितका ब्याजी अधिकारीले नै मुद्दा शाखाको सम्पूर्ण कामकाज र निर्णयहरू एकलौटी ढंगले हेर्ने र प्रभावित गर्ने गरेका छन्। इन्स्पेक्टरको कमाण्डलाई यसरी बाइपास गरेर सईको रजगज चलाइँदा पनि एसपी पाठक मौन र सहयोगी भूमिकामा देखिनुले उनको लाचारी र मिलेमतो छताछुल्ल पारेको छ।
हेडक्वार्टरको आदेश लत्याउँदै 'कागजी बिदा' मा क्राइम शाखा कब्जा
वरिष्ठ सई पण्डितमाथिको एसपी पाठकको अन्धमोह कतिसम्म छ भने उनले प्रहरी महानिरीक्षक (आईजीपी) को सचिवालय र प्रहरी प्रधान कार्यालयको निर्णयलाई समेत चुनौती दिएका छन्।
विशेष सरुवा अन्तर्गत नेपाल प्रहरी विशेष सुरक्षा गण, कोहलपुरमा काज/सरुवा गरिएका पण्डितलाई महिनौँसम्म रमाना नगरिकन पर्सामै राखिएको छ। हेडक्वार्टरको कारबाही र प्रश्नबाट बच्न पण्डितलाई कागजी रूपमा 'बिदा' मा रहेको देखाइएको छ, तर व्यवहारमा भने उनलाई पर्साकै क्राइम शाखा जस्तो संवेदनशील विभागको अनौपचारिक कमाण्डर बनाएर राखिएको छ। यो नेपाल प्रहरीको इतिहासमै संगठनको कमाण्ड उल्लंघनको लज्जास्पद कडी हो।
कमाण्डरकै आडमा चोरीको २२० सीसी पल्सर चढ्ने जवान
सबैभन्दा स्तब्ध पार्ने र लाजमर्दो विषय त यो छ कि, एसपी पाठकका अर्का निकट मानिने प्रहरी जवान आशिष पौडेलले लामो समयदेखि चोरीको मोटरसाइकल चढ्दै आएका छन्। पौडेलले खुलेआम चढ्ने गरेको **प्रदेश ०२–०३–०२४ प ३१७०** नम्बरको २२० सीसीको बजाज पल्सर मोटरसाइकल चोरीको रहेको बलियो प्रमाण बाहिरिएको छ।
सर्वसाधारणका चोरी भएका सवारी साधन खोज्नुपर्ने दायित्व बोकेको प्रहरी आफैँ चोरीको बाइक चढेर सयर गर्दा र जिल्ला कमाण्डर एसपी पाठकले त्यसमा आँखा चिम्लँदा, यसमा उनको समेत भागबण्डा रहेको आशंकालाई बल पुगेको छ।
अवैध असुली, तस्करी र हुण्डीको 'सिन्डिकेट'
एसपी पाठकको संरक्षणमा वरिष्ठ सई लोकेन्द्र पण्डित र जवान आशिष पौडेलको समूहले पर्सामा समानान्तर 'असुली संयन्त्र' खडा गरेको छ।
अवैध लाइन व्यवस्थापन:जवान आशिष पौडेलले सीमा क्षेत्र र बजारबाट अवैध कामका लागि 'लाइन मिलाउने' र रकम संकलन गर्ने मुख्य एजेन्टको रूपमा काम गरिरहेका छन्।
आर्थिक चलखेल वरिष्ठ सई पण्डितमाथि सीमा क्षेत्रबाट हुने तस्करी, हुण्डी कारोबार, क्यासिनो र यातायात क्षेत्रबाट मोटो रकम उठाउने गरेको गम्भीर आरोप छ। यससम्बन्धी केही अडियो प्रमाणहरू समेत सुरक्षित रहेको स्रोत बताउँछ।
यो सम्पूर्ण अवैध सञ्जालको केन्द्रमा स्वयं एसपी पाठक रहेको र उनको संरक्षणबिना मातहतका सई र जवानले यत्रो हिम्मत गर्न नसक्ने जिल्लाका सुरक्षा अधिकारीहरू नै बताउँछन्।
गृह मन्त्रालय र हेडक्वार्टरको ध्यानाकर्षण कहिले?
यस विषयमा प्रतिक्रिया लिन जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सुदीपराज पाठक, वरिष्ठ सई लोकेन्द्र पण्डित र जवान आशिष पौडेलसँग सम्पर्क प्रयास गर्दा उनीहरू पन्छिएका छन् र कुनै आधिकारिक जवाफ दिन सकेका छैनन्।
आफ्नै मातहतका कर्मचारीले चोरीको बाइक चढ्दा, हेडक्वार्टरको आदेश उल्लंघन गरी बिदाको नाटक गरेर कार्यालय चलाउँदा र मुद्दा शाखामा मर्यादा मिचेर मनोमानी गर्दा समेत लाचार बनेर बस्ने एसपी पाठकमाथि प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयले तत्काल उच्चस्तरीय छानबिन गरी कारबाहीको दायरामा ल्याउनु आवश्यक छ। अन्यथा, पर्सा जिल्लाको सुरक्षा र प्रहरी संगठनको साख अझै रसातलमा भासिने निश्चित छ।