वीरगञ्ज । गहवा माईको ऐतिहासिक रथ यात्राका अवसरमा लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र लायन्स क्लब अफ वीरगञ्ज जय गहवा माईले श्रद्धालु भक्तजनप्रति सेवाभाव प्रस्तुत गर्दै संयुक्तरूपमा हजारौं भक्तजनलाई निःशुल्क खानेपानी वितरण गरेका छन्।
रथयात्रामा अत्यधिक गर्मीका बीच सहभागी भएका भक्तजनलाई सहजता प्रदान गर्ने उद्देश्यले लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरूले यात्रामार्गमा खानेपानी वितरण गरेका हुन्। श्रद्धालुहरूको उल्लेख्य सहभागिता रहेको रथयात्रामा लायन्स क्लबको यो सेवामूलक अभियानले भक्तजनबाट व्यापक प्रशंसा पाएको थियो।
कार्यक्रमका संयोजक लायन्स क्लब अफ वीरगञ्जका अध्यक्ष लायन गोविन्दा साह कानुले मानव सेवा नै लायन्सको मूल उद्देश्य रहेको उल्लेख गर्दै धार्मिक तथा सामाजिक गतिविधिमा यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिइने बताए। उनका अनुसार गर्मीका कारण यात्रामा सहभागी भक्तजनलाई सहज महसुस गराउने उद्देश्यले स्वच्छ पिउने पानी वितरण गरिएको हो।
खानेपानी वितरण कार्यक्रममा विभिन्न लायन्स क्लबका अध्यक्ष, पदाधिकारी, सदस्य तथा स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो। भक्तजनहरूले पनि लायन्स क्लबको सेवाभावको प्रशंसा गर्दै यस्तो मानवीय कार्यले धार्मिक यात्रालाई थप सहज र व्यवस्थित बनाउन सहयोग पुगेको प्रतिक्रिया दिएका थिए।
लायन्स क्लबले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् राहत तथा मानव सेवालगायत विभिन्न क्षेत्रमा निरन्तर सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ। गहवा माई रथ यात्रामा सञ्चालन गरिएको निःशुल्क खानेपानी वितरण कार्यक्रम पनि लायन्सको सेवामूलक अभियानको अर्को उदाहरणका रूपमा रहेको आयोजकले जनाएको छ।