काठमाण्डौ । कर्णाली र मधेश प्रदेशमा दुईवटा फरक–फरक राजनीतिक घटनाक्रम विकास भएका छन् । कर्णालीमा मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ भने मधेस प्रदेशमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपाबीचको वर्तमान गठबन्धन सरकारलाई निरन्तरता दिने सहमति भएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध नेकपाका ११ र नेपाली कांग्रेसका पाँच गरी १६ जना प्रदेशसभा सदस्यले संयुक्त रूपमा प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । अविश्वास प्रस्तावमा मङ्गलबहादुर शाही, राजकुमार शर्मा, कृष्णबहादुर जिसी, उर्मिला विश्वकर्मा, कल्याणी खड्का, जुम्कीत लामा (कार्की), वीरबहादुर शाही, भीमप्रकाश शर्मा, महेन्द्र केसी, मिलन खड्का, रनसिंह परियार, हिक्मतबहादुर विष्ट, वेदराज सिंह, सुरेश अधिकारी, बिजया बुढा र कृष्णकुमार बिसीले हस्ताक्षर गरेका छन् ।
मधेस प्रदेशमा भने वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति भएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपाका संसदीय दलका नेताहरूको संयुक्त बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादवको नेतृत्वमा रहेको सरकारलाई यथावत् राख्ने सहमति गरेको हो ।
बैठकमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव र नेकपाका संसदीय दलका नेता तथा अर्थमन्त्री युवराज भट्टराई सहभागी थिए । बैठकपछि अर्थमन्त्री भट्टराईले अरु प्रदेशमा कांग्रेस–एमालेबीचको राजनीतिक सहकार्य अन्त्य भए पनि मधेस प्रदेशमा स्थायित्वलाई प्राथमिकता दिँदै वर्तमान गठबन्धनलाई निरन्तरता दिने सहमति भएको बताउनुभयो ।
एमाले संसदीय दलका नेता सरोजकुमार यादवले तीन दलको सहकार्यबाट प्रदेशको बजेट पारित भएको उल्लेख गर्दै आगामी दिनमा पनि विकास, समृद्धि र राजनीतिक स्थायित्वका लागि सहकार्य जारी रहने बताउनुभयो । मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले मधेस प्रदेशको राजनीतिक अवस्था अरु प्रदेशभन्दा फरक रहेकाले वर्तमान गठबन्धनलाई कायम राख्ने निर्णय गरिएको स्पष्ट पार्नुभयो ।