जनकपुरधाम । घटना १: रौतहटको गुजरा नगरपालिका–५, हरिहरपुर टोलमा शुक्रबार बिहानै खुकुरी प्रहार गरी एक महिलाको बीभत्स हत्या गरियो। जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी वसन्त गौतमले दिएको जानकारीअनुसार बिहान करिब १०: ३० बजे स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी ४५ वर्षीया रेनुदेवी जयसवाललाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाइएको थियो।
बाराको करैयामाई गाउँपालिका–८, इटहर बेलाही घर भई हाल हरिहरपुरमै बस्दै आएका अन्दाजी ३५ वर्षीय उपेन्द्र साह कलवारले रेनुदेवीमाथि खुकुरी प्रहार गरेका थिए। उपेन्द्रले सडकछेउमै रेनुदेवीमाथि निरन्तर खुकुरी प्रहार गरी हत्या गरिरहँदा पनि स्थानीयले रोक्ने र बचाउ गर्नुको साटो भिडियो बनाएर बसे। जबकी, रेनुको हत्या गरेर शवको छेउमै उपेन्द्र बसिरहेको भिडिओमा देख्न पाइन्छ।
घटना २: सिरहाको नवराजपुर गाउँपालिका—४, नवराजपुर गाउँकी २८ वर्षीया सञ्जना यादवलाई ३३ वर्षीय श्रीमान् रामशंकर यादवले भाइ श्यामसुन्दर यादवको सहयोगमा चरम यातना तथा शारीरिक हिंसा गरेका छन्। आफ्नो साथीसँग मोबाइलमा कुरा गरेको निहुँमा मंगलबार राति १० बजेतिर सञ्जनालाई हातखुट्टा बाँधेर, मुखमा कपडा कोची चुलोमा तताएको फलामे रडले शरीरभरि छाला उप्किने गरी निर्घात कुटपिट गरिएको थियो।
घरको झ्यालढोकासमेत थुनेर हातखुट्टा र शरीरका विभिन्न भागमा तातो रडले प्रहार गरी सञ्जनालाई यातना दिएपछि होहल्ला सुनेर छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले उनको उद्धार गरी अस्पताल पु¥याएको थियो। सञ्जनासँग रामशंकरले दोस्रो विवाह गरेका हुन्।
स्थानीयका अनुसार उनकी जेठी श्रीमतीलाई पनि सानोतिनो विवादमा निर्घात कुटपिट गर्ने गरिएकाले यातना सहन नसकेर घर छाडेर हिँडेकी थिइन्। तीन वर्षअघि मात्रै भारत बिहारको मधुबनी जिल्ला, भेलहा गाउँकी सञ्जनासँग रामशंकरले दोस्रो विवाह गरेका थिए। हाल रामशंकर प्रहरी हिरासतमा छन् भने घटनामा संलग्न उनका भाइ फरार छन्।
घटना ३: रौतहटको कटहरिया नगरपालिका–३, बरेडवामा नवविवाहिता २० वर्षीया निशाकुमारी साह सोनार शनिबार आफ्नै सुत्ने कोठामा सारीको पासो लगाई घरको बाँसको कोरोमा झुन्डिएको अवस्थामा फेला परिन्। प्रहरीका अनुसार बरेडवाका निरजकुमार साहसँग गत फागुनमा विवाह भएकी निशालाई उनकै कोठामा मृत फेला पारिएको थियो।
यता, मृतकका बुबा ईशनाथ नगरपालिका–जटहरा निवासी रवीन्द्र साह सोनारले छोरीको हत्या भएको आरोप लगाएका छन्। उनका अनुसार विवाह भएदेखि नै निरजले निशालाई पटक–पटक एसी, नगद तथा अन्य दाइजोको माग गर्दै मानसिक र शारीरिक यातना दिँदै आएका थिए। यसै क्रममा उनको मृत्यु भएकाले यो हत्या नै भएको आशंका परिवारको छ।
घटना ४: बाराको कलैया उपमहानगरपालिका–२१, भौडाहामा १३ वर्षीया बालिका सरिया खातुनले सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछिको मानसिक तनाव झेल्न नसकी आत्महत्या गरिन्। गाउँकै केही युवाहरूले उनको चरित्रमाथि नै प्रश्न उठाउँदै गालीगलौज, धाकधम्कीसहित दुव्र्यवहार र कुटपिट गरेको घटना भिडियो बनाएर सामाजिक सञ्जालमा भाइरल गराएपछि सो व्यवहार झेल्न नसकेर बालिकाले आत्महत्या गरेकी हुन्।
प्रहरीका अनुसार गत असार १५ गते भौडाहास्थित चौरको एक खेतमा ती बालिका केटासाथीसँग बसेर कुरा गरिरहेको बेला गाउँका अन्य केटाहरूको समूहले चौतर्फी घेरेर गालीगलौज, हातपात र दुव्र्यवहार गरेका थिए। सोही बेला भिडियोसमेत बनाएर गाउँभरि बालिकाको विषयमा नकारात्मक हल्ला फैलाएपछि असार १६ गते उनले घरमै झुन्डिएर आत्महत्या गरिन्।
यी घटना पछिल्लो एक महिनामा मधेसका विभिन्न जिल्लामा महिलामाथि भएका अमानवीय तथा हिंसाका भयावह उदाहरण हुन्। महिलामाथि चरम यातना, दुव्र्यवहार र हिंसाका घटनाहरू मधेसमा निकै बढेको र यसमा कतै न कतै ’महिलालाई जे गरे पनि आफूहरूलाई खासै सजाय हुँदैन’ भन्ने खालको मानसिकता व्याप्त रहेको पाइएको महिला अधिकारको क्षेत्रमा कार्यरत संस्था ओरेक नेपालकी मधेस प्रदेश प्रमुख वीणा सिंह बताउँछिन्।
‘महिलाहरूलाई एक त मधेसमा सांस्कृतिक, व्यावहारिक र मानसिक यातना छँदैछ, त्यसमाथि शारीरिक यातना दिँदासमेत पीडकलाई अपराध अनुसारको सजाय नहुनु हिंसाको एक प्रमुख कारक बन्दै गएको छ,’ सिंह भन्छिन्, ‘यस्ता घटनाहरू रोकथामका लागि सर्वप्रथम त हिंसा गर्नेलाई कडाभन्दा कडा कानुनी कारबाही हुनुपर्छ र दोस्रोमा हिंसा सहनु हुँदैन भन्ने खालको जनचेतनामूलक अभियान स्थानीय तहहरूमा सञ्चालन हुनुपर्ने आवश्यकता छ।’
‘घरपरिवारमा हिंसा हुँदा त्यसलाई ‘सानोतिनो व्यावहारिक कुरा हो, सहेर बस्नुपर्र्छ’ भन्ने खालको अर्ति–उपदेश अहिले पनि छोरी–बुहारीलाई दिने गरेका छन्, ‘महिला अधिकारकर्मी सम्झना वर्मा भन्छिन्, ‘हामीले आफ्ना छोरीहरूलाई हिंसाविरुद्ध बोल्नुपर्छ, चुप लाग्नु हुँदैन भनेर सक्दो शिक्षा दिनु आवश्यक छ। प्रदेश सरकार र स्थानीय तहले समेत महिला हिंसा रोकथामका लागि पर्याप्त अभियानहरू चलाउनु जरुरी छ, नत्र भने हिंसाका यी भयावह रूपहरू अझै कति देख्नुपर्ने हो थाहा छैन।’
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरकाअनुसार आर्थिक वर्ष २०८२÷८३ मा प्रदेशका ८ वटै जिल्लामा महिला तथा बालबालिकासम्बन्धी अपराधका ८ सय ३६ वटा मुद्दा दर्ता भएका छन्। जसमध्ये सबैभन्दा बढी जबरजस्ती करणीका ३ सय २९, बहुविवाहका १ सय ३०, जबरजस्ती करणी उद्योगका ७३, अपहरण गरी जबरजस्ती करणीका ४३, अपहरण तथा शरीर बन्धकका ४८, बोक्सीको आरोपका १९, गर्भपतनका १६, मानव बेचबिखनका १८ र अप्राकृतिक मैथुनका ४ वटा घटना रहेका छन्।
त्यसैगरी आत्महत्या गर्न दुरुत्साहन गरेका ३७ वटा, अमानवीय व्यवहारका ३, यौन दुव्र्यवहारका ४, वेश्यावृत्तिका १, बाल यौन दुरुपयोगका ३९ र अपहरण तथा मानव बेचबिखन तथा ओसारपसारका ६ वटा मुद्दा दर्ता भएका छन्। बहुविवाह र दाइजोसम्बन्धी ११ वटा र बालबालिकाविरुद्ध कसुरमा २ वटा मुद्दा पनि दर्ता भएको प्रहरी कार्यालयले जनाएको छ।
पछिल्लो समय अपराधका घटनाहरूमा बढ्दो निर्ममता र अमानवीयताको कारण मानिसहरूमा बढ्दै गएको वितृष्णा पनि रहेको मधेस प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकाल बताउँछन्।
‘अहिले हाम्रो समाजमा आर्थिक मन्दी, रोजगारीको अभाव र लागुऔषधको बढ्दो प्रयोगले व्यक्तिहरूमा क्रूरता र अराजकता बढेको हाम्रो अनुसन्धानका क्रममा देखिन्छ। आफ्नो सबै असफलताको भडास महिला तथा बालबालिकाहरूमाथि नै उतार्ने प्रवृत्ति बढ्दो छ। जसको परिणाम स्वरूप सानातिना झगडामा समेत जघन्य अपराध हुने गरेका छन्,’ ढकाल भन्छन्, ‘अर्कातर्फ सामाजिक सञ्जालको बढ्दो प्रयोगले नकारात्मकतालाई बढी नै प्रश्रय दिएको छ। नकारात्मक र उत्तेजक समाचारहरू बढी प्रचार गरिनु, मिसइन्फर्मेसन (भ्रामक सूचना), डिसइन्फर्मेसन (गलत सूचना) र मालइन्फर्मेसन (द्वेषपूर्ण सूचना) ले गर्दा समाज गलत बाटोमा हिँडिरहेको छ। यी कारणहरूले पनि हिंसालाई बढावा दिएको देखिन्छ।’
यस्ता क्रियाकलापहरू रोक्न व्यक्ति स्वयं, परिवार र समाजले सशक्त रूपमा निगरानी गर्नु आवश्यक रहेको ढकाल बताउँछन्।