काठमाडौं । दक्षिणपश्चिम फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलो नियन्त्रणमा लिन अग्निनियन्त्रकहरू संघर्षरत छन् । तीव्र हावा र उच्च तापक्रमका कारण आगो थप फैलिँदै जाँदा फ्रान्सको बोर्डो सहरसमेत जोखिममा परेको छ । स्पेनमा आपतकाल घोषणा गरिएको छ ।
फ्रान्सका एक अधिकारीले आगलागी अझै नियन्त्रणमा आउन धेरै समय लाग्ने संकेत गर्दै ‘हामी आगो नियन्त्रणको अवस्थाबाट अझै धेरै टाढा छौं’ भनेका छन् ।
डढेलोका कारण फ्रान्स र स्पेनमा हालसम्म २ लाख ५० हजारभन्दा बढी मानिस विस्थापित भएको बीबीसीले जनाएको छ । फ्रान्समा बोर्डोको पश्चिमका सात वटा नगरका बासिन्दालाई शनिबार राति घर छाड्न निर्देशन दिइएको थियो ।
बोर्डो नजिकै आगो, धुवाँले सहर ढाकियो
शनिबार बिहानसम्म डढेलो बोर्डोबाट करिब ४० देखि ५० किलोमिटर टाढा पुगेको थियो । यद्यपि तीव्र हावाका कारण धुवाँ सहरसम्म पुगेपछि स्थानीयले हावामा पोलिएको गन्ध महसुस गरेको बताएका छन् ।
डढेलोबाट परिवारसहित सुरक्षित स्थानमा पुगेका एक पर्यटकले बीबीसीसँग कुरा गर्दै आगोको अवस्था ‘डरलाग्दो’ रहेको बताएका छन् । उनले करिब १०० माइल टाढा पुगे पनि डढेलोको गन्ध अझै आइरहेको बताएका छन् ।
बोर्डोमा बिदा मनाइरहेका बेलायती दम्पतीले पनि शुक्रबार साँझदेखि आगोको प्रभाव तीव्र भएको बताएका छन् । उनीहरूका अनुसार खरानीले घरको स्विमिङ पुल ढाकेको छ भने बाहिर निस्कँदा खुट्टा कालो हुने अवस्था रहेको छ । धुवाँले सास फेर्नसमेत कठिन बनाएको उनीहरूको भनाइ छ ।
बोर्डो नजिकैको सेन्ट–ओबाँ–दे–मेडोक क्षेत्रका स्थानीयले परिस्थितिलाई तनावपूर्ण र ‘विपत्ति’को संज्ञा दिएका छन् ।
२ लाख मानिसको उद्धार, सेना परिचालन
फ्रान्सको गिरोन्दे र लान्देस क्षेत्रमा मात्रै करिब २ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
सरकारले डढेलो नियन्त्रणका लागि सेना परिचालन गरेको छ । सैनिकहरूले झाडी फाँड्ने, आगो फैलिन नदिन फायर ब्रेक बनाउनेलगायतका काम गरिरहेका छन् ।
देशभर करिब ३० वटा डढेलो सक्रिय रहेकाले राष्ट्रपति इमानुएल म्याक्रोनले मन्त्रीहरूसँग आपत्कालीन बैठक बोलाउने तयारी गरेका छन् । सरकारले अहिलेको अवस्था अभूतपूर्व भएको जनाएको छ ।
यसैबीच, आइतबार हुने टुर डी फ्रान्स साइकल प्रतियोगिताको अन्तिम चरण १३३ किलोमिटरबाट घटाएर ८९ किलोमिटर मा सीमित गरिएको छ, ताकि सुरक्षाकर्मीलाई डढेलो प्रभावित क्षेत्रमा परिचालन गर्न सकियोस् ।
स्पेनमा मौसमले केही राहत
डढेलोका कारण स्पेनमा आपतकाल घोषणा गरिएको छ । राजधानी म्याड्रिड आसपासको क्षेत्रमा मौसममा आएको सुधारले डढेलो नियन्त्रणमा केही सहज भएको अधिकारीहरूले बताएका छन् ।
क्षेत्रीय सरकारले हावा कम चलेको, आद्रता बढेको र तापक्रम घटेकाले आगोको तीव्रता कम भएको जनाएको छ ।
प्रधानमन्त्री पेद्रो सान्चेजले अहिले डढेलो नियन्त्रणका लागि ‘महत्वपूर्ण अवसर’ प्राप्त भएको बताए पनि आगामी दिन अझै चुनौतीपूर्ण रहने स्वीकार गरेका छन् ।
तर स्पेनको भ्यालेन्सिया क्षेत्रमा डढेलोमा परी ७० वर्ष आसपासका एक पुरुषको मृत्यु भएको पुष्टि भएको छ । उनी आगो निभाउने क्रममा आफ्नै कारभित्र मृत अवस्थामा फेला परेका थिए ।
स्पेनको गृह मन्त्रालयका अनुसार हालसम्म म्याड्रिड र आविला क्षेत्रबाट करिब ६० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने २८ हजारभन्दा बढी अझै घरभित्रै बस्न बाध्य छन् ।
म्याड्रिडकी क्षेत्रीय प्रमुख इसाबेल डियाज आयुसोले यसलाई ‘क्षेत्रकै इतिहासको सबैभन्दा ठूलो डढेलो’ भनेकी छन् ।
यस वर्षमै रेकर्डतर्फ

सान्चेजका अनुसार स्पेनमा सन् २०२६ को सुरुदेखि हालसम्म १ लाख ३० हजार हेक्टर वन क्षेत्र जलेको छ, जुन पछिल्लो दशकको वार्षिक औसत १ लाख हेक्टर भन्दा धेरै हो ।
फ्रान्सका गृहमन्त्री लरेन नुनेजका अनुसार फ्रान्समा पनि यस वर्षको सुरुदेखि ९८ हजार हेक्टर क्षेत्र डढेलोले नष्ट गरिसकेको छ ।
उता इटालीको सिसिली द्वीपमा पनि ३५० भन्दा बढी स्थानमा आगलागी भएको छ, जसमा १० वटा ठूलो डढेलो रहेका छन् । स्कटल्यान्डको केर्नगोर्म्स राष्ट्रिय निकुञ्जमा १० दिनदेखि लागेको डढेलो नियन्त्रणका लागि पनि ठूलो स्तरमा उद्धार तथा नियन्त्रण अभियान जारी छ ।
युरोपभर थप जोखिम
युरोपेली संघ (ईयू) की संकट व्यवस्थापन आयुक्त हद्जा लाहबिबले यस वर्ष युरोपमा डढेलोबाट हुने क्षति विगतका सबै रेकर्ड पार गर्न सक्ने चेतावनी दिएकी छन् ।
उनका अनुसार गत वर्ष गर्मीयाममा करिब १० लाख हेक्टर क्षेत्र जलेको थियो भने यस वर्ष गर्मी सुरु हुनुअघि नै डढेलो फैलिन थालेकाले अवस्था अझ गम्भीर हुन सक्ने देखिएको छ ।
डढेलो नियन्त्रणका लागि ईयूले फ्रान्समा क्रोएसियाबाट तीन वटा क्यानाडेयर पानी बर्साउने विमान, पोर्चुगलबाट दुई वटा एयर ट्याक्टर, चेक गणतन्त्र र स्लोभाकियाबाट ब्ल्याक हक हेलिकोप्टर तथा रोमानियाबाट वन डढेलो नियन्त्रण टोली पठाएको छ ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले ईयूको संयुक्त अग्निनियन्त्रण बेडाबाट फ्रान्स र स्पेनमा ११ वटा विमान तथा हेलिकोप्टर परिचालन गरिएको जानकारी दिएकी छन् ।