पकहा मैनपुर । श्री राम चरित्र भगत माध्यमिक विद्यालय, पकहा मैनपुर–३, पर्सामा विद्यालयलाई नमुना विद्यालय बनाउने, स्नातक (Bachelor) तह सञ्चालन गर्ने तथा समग्र शैक्षिक एवं भौतिक विकासका विषयमा आयोजित बृहत् छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहताले शिक्षामा कुनै पनि प्रकारको बाहिरी हस्तक्षेप स्वीकार्य नहुने बताउँदै आफू निर्वाचित भएदेखि नै शिक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभयो। उहाँले बाहिरका केही गलत तत्वहरूले पकहा मैनपुरको शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाउन खोजे पनि त्यस्ता प्रयास सफल हुन नसक्ने स्पष्ट पार्नुभयो। साथै विद्यालयको शैक्षिक तथा भौतिक विकासमा गाउँपालिकाको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश सहनीले विद्यालयलाई नमुना विद्यालय बनाउने आफ्नो पहिलो प्राथमिकता अनुशासनमा कडाइ, प्रशासनिक सुधार तथा भौतिक व्यवस्थापनको सुदृढीकरण रहेको बताउँदै सबै सरोकारवालाको साथ र सहयोगबाट विद्यालयलाई उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि वडा नं. ३ का अध्यक्ष सञ्जय चौहानले गाउँपालिकाको गौरवका रूपमा रहेको यस विद्यालयको शैक्षिक तथा भौतिक विकास आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै विद्यालय व्यवस्थापन समितिसँग सहकार्य गरी आवश्यक सहयोग निरन्तर रहने विश्वास दिलाउनुभयो।
कार्यक्रममा शिक्षा समिति सदस्य अनिल प्रसाद तेली, नसरुलाह मियाँ, शिन्धु मेहता, शिवजी सोनी, अकलेश साह, पूर्व वडाध्यक्ष लेखमन पटेल, मकसुल अन्सारी लगायतका समाजसेवी, शिक्षाप्रेमी तथा स्थानीय अगुवाहरूले विद्यालयको गुणस्तर अभिवृद्धि, नमुना विद्यालय निर्माण, अनुशासन, भौतिक पूर्वाधार विकास तथा सामुदायिक सहभागिताका विषयमा आ–आफ्ना सुझाव प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा प्रधानाध्यापक मनोज यादवले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने विद्यालयको वर्तमान शैक्षिक अवस्था, उपलब्धि र भावी योजनाबारे सहायक प्रधानाध्यापक शिव नन्दन जयसवाल तथा प्रकाश साहले जानकारी गराउनुभएको थियो।
विद्यालय व्यवस्थापन समितिद्वारा आयोजित उक्त कार्यक्रमको सञ्चालन शिक्षक बिन्दु भुषण साहले गर्नुभएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, अभिभावक, शिक्षक, कर्मचारी तथा शिक्षाप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।