रौतहट । रौतहट प्रहरीले विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका १३ जनालाई पक्राउ गरेको छ। प्रहरीले भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका करिब डेढ लाख रुपैयाँ बराबरका अवैध सामानसमेत बरामद गरेको छ।
फैसला कार्यान्वयनअन्तर्गत जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले विभिन्न स्थानबाट फरार प्रतिवादीलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार पक्राउ पर्नेमा चोरी तथा डाँका, चेक अनादर तथा कुटपिट, गाली बेइज्जतीलगायत मुद्दामा अदालतबाट फैसला भएका व्यक्तिहरू छन्।
पक्राउ परेकामध्ये एक जनालाई चोरी तथा डाँका मुद्दामा ४ महिना १९ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो। अन्य प्रतिवादीहरूलाई चेक अनादर तथा कुटपिट, गाली बेइज्जती मुद्दामा विभिन्न रकम जरिवाना तोकिएको थियो।
प्रहरीका अनुसार १३ जना पक्राउ पर्दा उनीहरूबाट कुल ४ महिना १९ दिन कैद तथा १६ हजार रुपैयाँ जरिवाना असुल हुने फैसला कार्यान्वयन भएको छ। पक्राउ परेका सबैलाई रौतहट जिल्ला अदालत, गौरमा बुझाइएको प्रहरीले जनाएको छ।
यसैबिच, प्रहरीले भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेका विभिन्न अवैध सामान बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालयबाट परिचालित बीएटी (बोर्डर एक्सन टिम) तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको संयुक्त गस्ती टोलीले विभिन्न मिति, समय र स्थानमा चेकजाँच गर्ने क्रममा ती सामान बरामद गरेको हो।
प्रहरीका अनुसार बरामद सामानमा मिल्क पाउडर, कपडा, तोरीको तेल, प्लास्टिक तथा मोटरसाइकलका स्पेयर पार्ट्स र हार्डवेयर सामग्री रहेका छन्।
त्यस्तै, डिउ (कोल्ड ड्रिंक) तथा सुर्ती र लसुन पनि बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद सामानको कुल अनुमानित मूल्य १ लाख ४९ हजार २५ रुपैयाँ रहेको छ।
प्रहरीले बरामद सबै सामान आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय, रौतहटमा बुझाएको जनाएको छ।
फरार प्रतिवादी पक्राउ र अवैध सामान नियन्त्रणका लागि सीमा क्षेत्रमा प्रहरीको निगरानी तथा गस्तीलाई थप प्रभावकारी बनाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।