पर्सा । पर्साको पकहामैनपुर गाउँपालिकामा करार कर्मचारी नियुक्ति, अध्यक्षको सचिवालयमा कर्मचारी व्यवस्थापन तथा कार्यालय सञ्चालनको विषयलाई लिएर विवाद उत्पन्न भएको छ। गाउँपालिका अध्यक्ष सुरेशप्रसाद मेहतामाथि आफन्त तथा आफ्नै घर रहेको वडा नं. १ धोरे क्षेत्रका व्यक्तिहरूलाई करार सेवामा प्राथमिकता दिएको आरोप लगाइएको छ।
सार्वजनिक गरिएको विवरणमा अध्यक्ष मेहताका नातेदारहरूलाई विभिन्न पदमा नियुक्त गरिएको दाबी गरिएको छ। पालिकामा डा. वेदप्रकाश कुशवाहा (मेडिकल अधिकृत) अध्यक्ष मेहताका ज्वाइँ नाता पर्ने, रिना देवी कुशवाहा (कार्यालय सहयोगी) साली नाता पर्ने तथा रमेशकुमार मेहता र सागरकुमार मेहता कार्यालय सहयोगी र विद्यालय लेखापाल पदमा कार्यरत अध्यक्षका भतिजा (पटिदार) नाता पर्ने दाबी गरिएको छ।
यस्तै, अध्यक्ष मेहताको स्थायी घर वडा नं. १ धोरे रहेको उल्लेख गर्दै गाउँपालिका अध्यक्षको सचिवालय तथा अन्य करार पदमा समेत धोरे क्षेत्रका व्यक्तिहरूको बाहुल्य रहेको आरोप लगाइएको छ।
विवरणमा अध्यक्षको सचिवालयमा सहायक कम्प्युटर अपरेटर, कार्यालय सहयोगी, पाले तथा सुपरभाइजरलगायतका पदमा धोरे क्षेत्रका करार कर्मचारीलाई राखेर ठूलो टोली निर्माण गरिएको आरोप छ।
जसमा धिरजकुमार वर्णवाल (सहायक कम्प्युटर अपरेटर), रमेशकुमार मेहता (कार्यालय सहयोगी), राजेश यादव (पाले), सुनिल राउत कमकर (पाले), शिवनाथ दास (पाले) र अनिलकुमार (सुपरभाइजर) लगायतका रहेका छन् ।
तीमध्ये केही कर्मचारी कार्यालयमा नियमित जिम्मेवारीमा खटिनुको सट्टा अध्यक्ष मेहताको निजी सुरक्षा सहयोगी वा कार्यकर्ताजस्तो भूमिकामा परिचालित हुने गरेको आरोपसमेत लगाइएको छ।
आर्थिक वर्ष २०८२/८३ मा नियुक्त भएका पाँच जना कार्यालय सहयोगीमध्ये चार जना धोरेका र एक जना कालिकामाई गाउँपालिकामा बसोबास गर्ने व्यक्ति रहेको तथा उक्त व्यक्ति पनि अध्यक्ष मेहताको नातेदार रहेको दाबी गरिएको छ।
त्यसैगरी, विद्यालय लेखापाल पदका लागि सो आर्थिक वर्षमा दुईवटा मात्र विज्ञापन भएको र दुवै पदमा धोरेका दुई जना व्यक्तिले नियुक्ति पाएको दाबी गरिएको छ। अध्यक्ष मेहताको प्रभाव तथा संरक्षणका कारण उनीहरूले नियुक्ति पाएको आरोपसमेत लगाइएको छ।
अध्यक्ष मेहताले गाउँपालिका कार्यालयलाई आफ्नो व्यक्तिगत प्रभावमा सञ्चालन गर्न खोजेको आरोपसमेत लगाइएको छ। वडा अध्यक्ष तथा वडा सदस्यहरू गाउँपालिका कार्यालयमा आउँदा असहज व्यवहार गर्ने गरेको र यस विषयमा अध्यक्ष तथा वडा अध्यक्षहरूबीच पटक–पटक विवाद हुने गरेको छ।
त्यस्तै, गाउँपालिका कार्यालयमा सीसीटीभी जडान गरी कार्यालयको कामकारबाही पारदर्शी बनाउनुपर्नेमा अध्यक्ष मेहताले नै सीसीटीभी जडान गर्न रोक लगाएको आरोप लगाइएको छ । सीसीटीभी जडान भएपछि कर्मचारीमाथि दबाब दिने तथा गैरकानुनी काम गराउने अवस्था सार्वजनिक हुने भएकाले जडान रोकिएको आरोपसमेत लागेको छ।
अध्यक्षका निकट व्यक्तिहरूमार्फत कर्मचारीलाई धम्काउने तथा दबाब दिने गरिएको आरोप पनि लगाइएको छ।
यता, गाउँपालिका अध्यक्ष सुरेशप्रसाद मेहताले भने आफूले कुनै पनि नातेदारलाई करार सेवामा नियुक्त नगरेको बताएका छन्। आफूमाथि लगाइएका आरोपहरू निराधार रहेको उनको भनाइ छ।