वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–१४ स्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालि (क्यासिनो) मा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने तथा खेल्ने कार्यमा संलग्न रहेको आरोपमा आठ जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार जुवा खेल्ने कार्यमा संलग्न रहेको आरोपमा पर्साको सखुवा प्रसौनी गाउँपालिका–६ निवासी ३६ वर्षीय जशवन्त यादव, ३० वर्षीय चन्दन सहनी, वीरगञ्ज महानगरपालिका–११ निवासी ३१ वर्षीय ओमप्रकाश बैठा तथा स्याङ्जाको हरिनास गाउँपालिका–७ निवासी ३६ वर्षीय प्रदीप पौडेल नियन्त्रणमा परेका छन्।
नियन्त्रणमा परेका जशवन्त यादव हाल सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष हुन् भने प्रदीप पौडेल इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) हुन्।
त्यसैगरी नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउन सहयोग गरेको आरोपमा क्यासिनोका कर्मचारी विजयकुमार पटेल, दिनेश कुमार पटेल, जयदेव साह र प्रदेशी साह लाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार उक्त घटनाबारे थप अनुसन्धान भइरहेको छ। नियन्त्रणमा परेका व्यक्तिहरूमाथि प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ।