वीरगन्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव, प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रदीप पौडेलसहित पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय पर्साले ६ दिनको म्याद थप गरेको छ।
वीरगन्जको गण्डकस्थित क्लार्क रिसोर्टमा सञ्चालित गोल्डेन फिगर क्यासिनोबाट नियन्त्रणमा लिइएका उनीहरूमाथि मुलुकी अपराध संहिता बमोजिम गैरकानुनी जुवा/सट्टेबाजी सम्बन्धी कसुरमा म्याद थप गरी प्रहरीले सूक्ष्म अनुसन्धान अगाडि बढाएको हो।
प्रहरीको विशेष टोलीले क्यासिनोभित्र नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको दाबी गरिरहँदा अर्कोतर्फ प्रहरी अनुसन्धानलाई नै बाधा पुर्याउने र विषयान्तर गर्ने नियतले विभिन्न तर्कहरू अघि सारिएको आशंका गरिएको छ।
अध्यक्ष यादव क्यासिनोभित्र जुवा खेल्न नभई इन्सपेक्टर पौडेलको तारन्तार फोन आएपछि मात्र त्यहाँ पुगेको र १९ मिनेटमै छापा मारिएको जस्ता दाबीहरू सार्वजनिक गरिएका छन्। तर, कानुन कार्यान्वयन गराउने निकाय प्रहरीका अनुसार यस्ता दाबीहरू निष्पक्ष अनुसन्धान प्रक्रियालाई भड्काउने, विवादित बनाउने र अनुसन्धानमा बाधा पुर्याउने नियतले सिर्जना गरिएको हुन सक्ने देखिन्छ।
"नेपाली नागरिकलाई क्यासिनो प्रवेश र जुवा खेल्न पूर्ण रूपमा वर्जित गरिएको अवस्थामा जनप्रतिनिधि र प्रहरी अधिकृत नै एकै ठाउँमा भेटिनु आफैँमा गम्भीर विषय हो," अनुसन्धान अधिकारीहरू बताउँछन्। अदालतबाट म्याद थप भइसकेकाले घटनाको सम्पूर्ण पाटो—सिसीटिभी फुटेज, कल डिटेल रेकर्ड (CDR), र क्यासिनोभित्रको वास्तविक गतिविधि—सूक्ष्म रूपमा विश्लेषण गरी सत्यतथ्य बाहिर ल्याइने प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार कुनै पनि दबाब वा भ्रामक प्रचारले अनुसन्धान प्रक्रिया प्रभावित नहुने र कानुनबमोजिम निष्पक्ष छानबिन अगाडि बढाइनेछ।