काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ ठमेलमा युवतीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ–१४ कलङ्कीका ३० वर्षीय सालिन साह रहेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार साँझ साहलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार भदौ १८ गते ठमेलमा पैदल हिँडिरहेकी एक युवतीलाई अनुचित रूपमा छोएको (ब्याड टच) तथा अपशब्द बोलेको आरोप उनीमाथि लागेको छ।
घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा घटनास्थलमा लामो कपालमा देखिएका साह पक्राउ पर्दा भने छोटो कपाल बनाएको अवस्थामा फेला परेका थिए। प्रहरीका अनुसार उनले घटनापछि घर गएर कपाल काटेको बयान दिएका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार पक्राउ परेका व्यक्ति वास्तविक आरोपी हुन् वा होइनन् भन्ने यकिन गर्न पीडितलाई सनाखतका लागि बोलाइएको छ। सनाखतपछि कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।