पर्सा/जगरनाथपुर । विद्यालयमा अध्ययनरत सबै बालबालिकालाई समान रूपमा शिक्षाको अवसर उपलब्ध गराउने तथा शिक्षा प्राप्तिको क्रममा पछाडि परिरहेका बालबालिकाको पहुँच र सहभागिता बढाउने उद्देश्यले जगरनाथपुर गाउँपालिकाका दुई सामुदायिक विद्यालयमा बालिका तथा समावेशी शिक्षा सञ्जाल (GIEN) गठन गरिएको छ।
Accountability Lab Nepal को आर्थिक सहयोग तथा सामाजिक संस्था जिल्ला समन्वय समिति (SODCC), पर्साको प्राविधिक सहयोगमा सञ्चालित ACCESS परियोजना–FSTP कार्यक्रम अन्तर्गत जगरनाथपुर गाउँपालिका–५ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मसिहानी र वडा नं. ४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, जगरनाथपुर सिरामा विद्यालयस्तरीय सञ्जाल गठन गरिएको हो।
नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरद्वारा स्वीकृत ‘बालिका तथा समावेशी शिक्षा सञ्जाल (गठन तथा सञ्चालन) सम्बन्धी मापदण्ड, २०८०’ बमोजिम दुवै विद्यालयमा सञ्जाल गठन गरिएको आयोजकले जनाएको छ।
विद्यालयमा बालबालिकाको पहुँच विस्तार हुँदै गए पनि सामाजिक, आर्थिक, लैङ्गिक, भौगोलिक तथा अन्य कारणले कतिपय बालबालिका अझै पनि शिक्षाको समान अवसरबाट वञ्चित हुने अवस्था रहेको भन्दै त्यस्ता समस्याको पहिचान र समाधानका लागि विद्यालयस्तरमै सक्रिय संयन्त्र आवश्यक रहेको कार्यक्रममा सहभागीहरूले बताएका थिए।
विशेषगरी बालिका, अपाङ्गता भएका बालबालिका, सीमान्तकृत तथा पछाडि परेका समुदायका बालबालिका शिक्षामा पहुँच, नियमित सहभागिता र निरन्तरताका क्रममा विभिन्न अवरोधको सामना गर्नुपर्ने अवस्था रहेकाले उनीहरूका समस्यालाई प्राथमिकतामा राखेर काम गर्न सञ्जाल गठन गरिएको हो।
सञ्जाल गठन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधि, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक, Accountability Lab Nepal का प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रममा बालिका तथा समावेशी शिक्षा सञ्जालको आवश्यकता, उद्देश्य, भूमिका, जिम्मेवारी तथा विद्यालयमा यसको प्रभावकारी परिचालनका विषयमा छलफल गरिएको थियो।
विद्यालयमा कुनै बालबालिका सामाजिक वा आर्थिक अवस्था, लैङ्गिक विभेद, अपाङ्गता वा समुदायका कारण शिक्षाबाट पछाडि पर्न नहुनेमा सहभागीहरूले जोड दिएका थिए। विद्यालयलाई सबै बालबालिकाले सुरक्षित, सम्मानित र आफू पनि यसै समुदायको हिस्सा भएको महसुस गर्ने वातावरणका रूपमा विकास गर्नुपर्ने उनीहरूको भनाइ थियो।
गठित सञ्जालले विद्यालयमा बालमैत्री, सुरक्षित तथा समावेशी वातावरण निर्माण गर्न पहल गर्नेछ। त्यसैगरी बालिकाको अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्ने, विद्यालयमा हुन सक्ने विभेद र शैक्षिक अवरोधको पहिचान गर्ने तथा त्यस्ता समस्या न्यूनीकरणका लागि सम्बन्धित पक्षसँग समन्वय गर्ने जिम्मेवारी पनि सञ्जालले निर्वाह गर्नेछ।
विद्यार्थी तथा अभिभावकका गुनासा, सुझाव र समस्यालाई समेत सञ्जालले प्राथमिकताका साथ लिने जनाइएको छ। विद्यालयमा देखिएका समस्या संकलन गरी आवश्यकताअनुसार विद्यालय व्यवस्थापन, स्थानीय सरकार तथा सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्दै समाधानका लागि पहल गर्ने व्यवस्था गरिएको छ।
कार्यक्रममा विद्यालयमा बालिकाको सहभागिता बढाउनु मात्र पर्याप्त नभई उनीहरूलाई नियमित रूपमा विद्यालय आउने, सुरक्षित वातावरणमा सिक्ने, आफ्नो विचार राख्ने र शिक्षालाई निरन्तरता दिने अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको थियो। यसका लागि विद्यालय र परिवारबीचको सम्बन्ध बलियो बनाउनुपर्ने तथा अभिभावकलाई पनि समावेशी शिक्षाको महत्वबारे निरन्तर सचेत गराउनुपर्ने सहभागीहरूको भनाइ थियो।
त्यस्तै, अपाङ्गता भएका तथा सीमान्तकृत समुदायका बालबालिकाका लागि विद्यालयको वातावरण सहज र पहुँचयोग्य बनाउनुपर्ने विषयमा समेत छलफल गरिएको थियो। शिक्षाको मूलधारमा सबै बालबालिकाको समान सहभागिता सुनिश्चित गर्न विद्यालयको भौतिक वातावरणसँगै शिक्षक, विद्यार्थी र समुदायको व्यवहारमा समेत समावेशी सोच आवश्यक रहेको कार्यक्रममा बताइएको थियो।
‘कसैलाई पनि पछाडि नछोड्ने (Leave No One Behind)’ अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्दै सबै बालबालिकाका लागि समान, सुरक्षित, गुणस्तरीय तथा समावेशी शिक्षाको वातावरण निर्माण गर्न विद्यालय, अभिभावक, स्थानीय सरकार र अन्य सरोकारवालाबीच निरन्तर समन्वय आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए।
सञ्जाललाई प्रभावकारी रूपमा परिचालन गर्न सके विद्यालयमा रहेका समस्या समयमै पहिचान हुनुका साथै बालबालिकाका आवाजलाई सम्बन्धित निकायसम्म पुर्याउन सहज हुने अपेक्षा गरिएको छ। यसले विद्यालय छाड्ने जोखिममा रहेका बालबालिकाको पहिचान, उनीहरूको शैक्षिक निरन्तरता तथा विद्यालयमा समान सहभागिता बढाउनसमेत सहयोग पुग्ने आयोजकको विश्वास छ।
विद्यालयस्तरमा गठन गरिएको सञ्जालले आगामी दिनमा बालिका तथा समावेशी शिक्षासम्बन्धी विषयलाई निरन्तर उठान गर्दै विद्यालयको समग्र शैक्षिक वातावरण सुधारमा सहजीकरण गर्ने जनाइएको छ। साथै, विद्यालयमा देखिने विभेद, पहुँचको समस्या तथा शैक्षिक अवरोधलाई केवल विद्यालयको विषयका रूपमा नभई परिवार, समुदाय र स्थानीय तहसँग जोडेर समाधान खोज्ने प्रयास गरिने बताइएको छ।
शिक्षामा समान पहुँच र अवसर सुनिश्चित गर्न कानुनी तथा नीतिगत व्यवस्था मात्र पर्याप्त नभई त्यसको प्रभावकारी कार्यान्वयनका लागि विद्यालय तहबाटै निरन्तर पहल आवश्यक हुने कार्यक्रममा सहभागीहरूको निष्कर्ष थियो। त्यसका लागि नवगठित सञ्जाललाई सक्रिय राख्दै विद्यार्थी, अभिभावक, शिक्षक र समुदायबीच नियमित संवाद र सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो ।
नवगठित सञ्जालले विद्यालयमा देखिने शैक्षिक, सामाजिक तथा स्वास्थ्यसम्बन्धी समस्या पहिचान गरी आवश्यकताअनुसार सम्बन्धित निकायसँग समन्वय गर्ने तथा बालबालिकाको अधिकार र शिक्षामा पहुँच सुनिश्चित गर्न पहल गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रम सामाजिक संस्था जिल्ला समन्वय समिति (SODCC), पर्साको सहजीकरणमा सम्पन्न भएको हो।