वीरगञ्ज l भन्सार प्रशासन र सुरक्षा निकायको प्रत्यक्ष उपस्थिति रहने वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आईसीपी) भित्र व्यापारिक वर्चस्व कायम गर्ने र गैरकानुनी 'सेटिङ' चलाउने विषयलाई लिएर दुई गुटबीच भीषण झडप भएको छ। सञ्चारकर्मीको आवरणमा सवारीसाधन रोक्ने, कागजात जाँच गर्ने र असुली धन्दा चलाउने गैरकानुनी हर्कतका कारण संवेदनशील भन्सार क्षेत्रमा कुटपिटको घटना घटेपछि आईसीपीको सुरक्षा व्यवस्था र प्रशासनिक संयन्त्रमाथि गम्भीर प्रश्न खडा भएको छ।
भदौ ३० गते राति करिब ९:३० बजे आईसीपीबाट बाहिरिँदै गरेको मालवाहक ट्रकलाई गैरकानुनी रूपमा रोक्ने प्रयास गरेपछि विवादको बीजारोपण भएको थियो। नेपाल पत्रकार महासंघ मधेश प्रदेश कार्यसमिति सदस्य अजय साह र तरकारी तथा फलफूल व्यवसायमा संलग्न पत्रकार अखिलेश साहबीच सुरु भएको भनाभनले उग्र रूप लिँदा दुवै पक्षका समर्थकहरूबीच कुटपिट भएको हो।
घटनामा संलग्न रहेको आरोपमा विपिन साह तुरहा, अजय साह तुरहा, सञ्जय साह तुरहा, प्रकाश साह तुरहा, मुस्तुफा समानी, दिपु साह तुरहा र दिपु पटेलविरुद्ध प्रहरीमा अभद्र व्यवहार तथा कुटपिटको उजुरी दर्ता गरिएको छ। उजुरीअनुसार आरोपीहरूको आक्रमणबाट मनिष कुमार गुप्ता, नवीन कुमार तिवारी, विशाल साह, मिथलेश कुमार गुप्ता, अरुण कुमार यादव, अब्दुल हसन मियाँ र रमेश लामा घाइते भएका छन्। आक्रमणमा अरुणकुमार यादवको टाउको र मिथलेशकुमार गुप्ताको आँखामा गम्भीर चोट लागेको छ। घाइतेहरूको नारायणी अस्पतालमा उपचार गराई घाउजाँच फारम प्रहरीलाई बुझाइएको छ।
घटनाका मुख्य अभियुक्तमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष विपिन साहका भाइ प्रकाश साह तुरहालाई प्रहरीले नियन्त्रणमा लिएर अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाएको छ। अन्य आरोपितहरू भने कानुनी कारबाहीबाट बच्न फरार रहेका छन्।
भन्सार ऐन र प्रचलित कानुनअनुसार मालवस्तुको जाँचबुझ, सवारीसाधन नियन्त्रण र कागजात परीक्षण गर्ने एकल अधिकार सरकारी निकाय (भन्सार र प्रहरी) लाई मात्र छ। तर, पत्रकारको परिचयपत्र देखाएर सवारीसाधन रोक्ने, कागजात माग्ने र माछा, तरकारी तथा फलफूल आयातमा आफ्नो एकाधिकार कायम गर्न 'सेटिङ' मिलाउने हर्कतले राज्यको प्रशासनिक संयन्त्रलाई नै चुनौती दिएको छ।
स्थानीय व्यवसायी र सरोकारवालाहरूले आईसीपीजस्तो संवेदनशील नाकामा आपराधिक गतिविधि, गैरकानुनी हस्तक्षेप र असुली धन्दा चलाउने जोसुकै भए पनि कडा कानुनी कारबाही हुनुपर्ने माग गरेका छन्। आईसीपीभित्र भन्सार प्रक्रियाको पारदर्शिता कायम गर्न र गैरकानुनी सवारी रोक्का तथा असुलीमा संलग्न सबै दोषीहरूलाई तत्काल पक्राउ गरी निष्पक्ष अनुसन्धान गर्न दबाब बढेको छ।