वीरगञ्ज । संविधान दिवसको अवसर पारेर युवा चिकित्सक डा. राज कुमार शाहले वीरगञ्जका विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गर्दै समाजसेवाको उदाहरण प्रस्तुत गरेका छन्।
वीरगञ्ज महानगरपालिका–१० स्थित होली ल्यान्ड इंग्लिश बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गर्दै डा. शाहले विद्यार्थीहरूलाई स्वास्थ्यसम्बन्धी आवश्यक परामर्श दिएका छन्।
नियमित रूपमा अपनाउनुपर्ने स्वास्थ्य सावधानी, खानपान तथा स्वस्थ जीवनशैलीका विषयमा समेत विद्यार्थीहरूलाई जानकारी गराइएको थियो।
संविधान दिवसका अवसरमा भविष्यका नागरिक, संविधानका रक्षक तथा देशका कर्णधार मानिने बालबालिकाको स्वास्थ्यप्रति सचेतना जगाउने उद्देश्यले स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएको हो।
पछिल्लो समय त्रिभुवन राजपथ विस्तारका क्रममा उत्पन्न धुलो, धुवाँ तथा विभिन्न अवरोधका कारण वीरगञ्जवासीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभावबाट जोगिन अपनाउनुपर्ने सावधानीबारे पनि विद्यार्थीहरूलाई जानकारी दिइएको थियो। स्वास्थ्य परीक्षणमा सहभागी विद्यार्थी सञ्जय गुप्ताका अनुसार चिकित्सक शाहले सडक विस्तारका कारण उत्पन्न स्वास्थ्य जोखिमबाट बच्ने उपायबारे समेत विद्यार्थीहरूलाई सचेत गराएका थिए।
वीरगञ्जमै बसेर समाजसेवामा सक्रिय
धरानबाट एमबीबीएस तथा मणिपाल शिक्षण कलेजबाट बालरोगमा विशेषज्ञता (एमडी) हासिल गरेका डा. राज कुमार शाह वीरगञ्जकै स्थानीय बासिन्दा हुन्। आफू जन्मे–हुर्केको ठाउँप्रतिको माया र सामाजिक जिम्मेवारीलाई प्राथमिकतामा राख्दै उनले वीरगञ्जमा नै क्लिनिक सञ्चालन गर्दै आएका छन्।
प्रतिष्ठित शिक्षण संस्थाबाट चिकित्सा शिक्षा हासिल गरेका डा. शाहलाई वीरगञ्जबाहिरका विभिन्न अस्पतालबाट आकर्षक तलब तथा सुविधा सहितका अवसर आए पनि उनले आफ्नो ठाउँमा बसेर चिकित्सा सेवा र समाजसेवालाई निरन्तरता दिँदै आएका छन्।
‘सेवा नै सबैभन्दा ठूलो धर्म हो’ भन्ने भावनाका साथ डा. शाहले विभिन्न अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचारसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका छन्।
यसअघि कुशे औँसी अर्थात् बुवाको मुख हेर्ने दिनको अवसरमा ९५ जना विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गरेका डा. शाहले संविधान दिवसको अवसरमा मात्रै ८५ जना विद्यार्थीको स्वास्थ्य परीक्षण गरेका छन्।
सबै विद्यार्थीको स्वास्थ्य परीक्षण गर्ने डा. शाहको चाहना
होली ल्यान्ड इंग्लिश बोर्डिङ स्कुलमा अध्ययनरत सबै विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने इच्छा व्यक्त गर्दै डा. शाहले विद्यालयसमक्ष आग्रह गरेका थिए।
विद्यालयका सञ्चालक शारदा शंकर प्रसाद गुप्ताले डा. शाहको सेवाभाव, लगनशीलता तथा स्वास्थ्य परीक्षण र उपचार पद्धतिको प्रशंसा गर्दै आज स्वास्थ्य परीक्षण गर्न छुटेका विद्यार्थीहरूको पनि भोलि आइतबार निःशुल्क स्वास्थ्य परीक्षण गरिने जानकारी दिएका छन्।
विद्यार्थीहरूको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै गरिएको यस्तो पहलले चिकित्सक र विद्यालयबीचको सामाजिक उत्तरदायित्वलाई थप बलियो बनाएको छ। संविधान दिवसलाई केवल औपचारिक समारोहमा सीमित नराखी बालबालिकाको स्वास्थ्य र भविष्यसँग जोडेर मनाइएको यो अभियानले समाजमा सकारात्मक सन्देश दिएको छ।