सप्तरी । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन आवश्यक कानुन र नीति निर्माण गर्दै आन्तरिक रोजगारी विस्तार गर्ने सरकारको प्राथमिकता रहेको बताएका छन्।
सप्तरीको रुपनी गाउँपालिका–५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा शुक्रबार श्रम तथा रोजगार कार्यालय जनकपुरधामले निर्माण उद्योगमा कार्यरत श्रमिकका लागि आयोजना गरेको व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रममा मन्त्री यादवले विगतमा आन्तरिक रोजगारी सिर्जनामा पर्याप्त पहल हुन नसक्दा युवाहरू विदेशिन बाध्य भएको बताए।
उनले २०७१ सालमा रोजगार नीति बने पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै अब आवश्यक कानुन निर्माण गरी आन्तरिक रोजगारी विस्तार गरिने जानकारी दिए। सरकारले कम्तीमा एक लाख युवाका लागि रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको पनि उनले बताए।
मन्त्री यादवले श्रमिकको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै सुरक्षित कार्यस्थल निर्माणमा सबै पक्षले ध्यान दिनुपर्नेमा जोड दिए।
सप्तरीका विकास योजनाबारे जानकारी दिँदै उनले राजविराजमा लामो समयदेखि विवादमा रहेको बिटौरी जग्गाको लालपुर्जा दसैंअघि नै वितरण गरिने प्रतिबद्धता व्यक्त गरे। साथै, गजेन्द्र नारायण सिंह अस्पताललाई ५० शय्याबाट १०० शय्यामा स्तरोन्नति गर्ने प्रक्रिया अघि बढेको र ८० जना स्थायी कर्मचारीको दरबन्दी स्वीकृत भइसकेको जानकारी दिए।
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उनले छिट्टै टेन्डर प्रक्रिया पूरा गरी निर्माण कार्य सुरु गरिने बताए।
औद्योगिक क्षेत्रलाई पूर्ण रूपमा सञ्चालनमा ल्याएर रोजगारीको केन्द्र बनाउने सरकारको योजना रहेको उल्लेख गर्दै उनले कपडा उद्योग स्थापना, ट्रान्सफर्मर उद्योग तथा टायल उद्योग सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढिरहेको जानकारी दिए।
राजविराजस्थित कन्या छात्रावास सञ्चालनका लागि आवश्यक बजेट व्यवस्थापन गरी छिट्टै सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री यादवले युवामैत्री नीति र कानुन निर्माणमा सरकार प्रतिबद्ध रहेको बताए।
उनले भने, "सिस्टम युवाहरूको हुनुपर्छ, युवाहरूले चाहेअनुसारको ऐन बन्नुपर्छ।" रोजगारी र सीप विकासलाई सुदृढ बनाउन सरकार गम्भीरतापूर्वक लागिरहेको उनको भनाइ थियो।
कार्यक्रममा रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादव र राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविनले गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र पूर्ण रूपमा सञ्चालनमा ल्याई उद्योग स्थापना तथा रोजगारी सिर्जनामा सरकारको ध्यानाकर्षण गराए।
उनीहरूले किसानलाई समयमै मलखाद र बीउ उपलब्ध गराउने, गजेन्द्रनारायण सिंह अस्पतालको सेवा सुधार गर्ने, खेतसम्म सिँचाइ सुविधा विस्तार गर्ने, नदी तथा नालाको व्यवस्थापन गर्ने तथा औद्योगिक क्षेत्रको पूर्वाधार विकास गर्न सरकारसँग माग गरेका थिए।
कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापासहित उद्योगी, श्रमिक, स्थानीय तहका जनप्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।