वीरगन्ज । पर्साको पकहामैनपुर गाउँपालिकामा प्राविधिक जनशक्ति (सर्वेक्षक) पदपूर्तिको नाममा गम्भीर अनियमितता, प्रशासनिक मनपरी र आर्थिक चलखेल भएको तथ्य सार्वजनिक भएको छ। एक जना सर्वेक्षकका लागि खोलिएको विज्ञापनमा नियमविपरीत दुई जनालाई नियुक्तिका लागि सिफारिस गरिएपछि गाउँपालिकाको पदपूर्ति प्रक्रिया विवादित मात्र बनेको छैन, प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहको नियतमाथि नै गम्भीर प्रश्न चिह्न खडा भएको छ।
गाउँपालिकाद्वारा प्रकाशित सूचना नं. ०३/०८३–०८४ मा १ जना मात्र सर्वेक्षक माग गरिएको थियो। तर, सार्वजनिक गरिएको अन्तिम नतिजामा रोल नं. ३ का अभय प्रताप मण्डल धानुक र रोल नं. १६ का रोहित दास तत्मा दुवै जनालाई नियुक्तिका लागि सिफारिस गरिएको छ। १ जनाको दरबन्दीमा २ जना सिफारिस गरिनुले कानुन र कार्यविधिको धज्जी उडाएको प्रस्ट हुन्छ।
जनप्रतिनिधिको लिखित निर्देशन लत्याउँदै प्रशासनिक मनपरी
प्रकरण झनै पेचिलो त्यतिबेला बन्यो, जब गाउँपालिका अध्यक्ष सुरेश मेहताले लिखित रूपमै अन्तर्वार्ता तथा नियुक्ति प्रक्रिया रोक्न निर्देशन दिएका थिए। तर, जनप्रतिनिधिको लिखित निर्देशनलाई रद्दीको टोकरीमा फाल्दै प्रमुख प्रशासकीय अधिकृत देवनाथ साह र प्रशासन शाखा प्रमुख रमेश मेहताले प्रक्रिया अघि बढाएर अन्तिम नतिजा सार्वजनिक गरे। निर्वाचित अध्यक्षको आदेशलाई लत्याएर गरियको यो निर्णयले प्रशासनिक हालीमुहाली र मिलेमतोलाई नाङ्गो रूपमा उजागर गरेको छ।
गोप्य निर्णय र नक्कली प्रक्रियाको नाटक
गाउँपालिकाले २०८३/०५/११ गते नै २ जना नियुक्त गर्ने सम्बन्धी टिप्पणी उठाएर निर्णय गरिएको दाबी गरे पनि सो निर्णय समयमै किन सार्वजनिक गरिएन भन्ने प्रश्न उठेको छ। प्रक्रियालाई पारदर्शी बनाउनुको साटो गोप्य राख्नुले नै भित्री 'सेटिङ' पुष्टि गर्दछ।


विज्ञ छनोटमै विवाद
यति मात्र होइन, विषयगत विज्ञ छनोटमा समेत धाँधली गरिएको छ। गाउँपालिकाले नजिकैको नापी कार्यालय पोखरियाका प्रमुख बब्लु पाण्डेलाई नबोलाई पहुँच र अनुकूलताका आधारमा नापी कार्यालय बाराका प्रमुख सुबोध कुमार यादवलाई झिकायो। प्रशासन शाखा प्रमुखले पोखरियाका प्रमुख आउन मान्नुभएन भनी ढाँटिरहँदा पोखरिया नापी प्रमुख पाण्डेले भने आफूलाई कुनै पत्र वा जानकारी नै नआएको स्पष्ट पारेका छन्। यसले फर्जी कागजात खडा गरेर विज्ञ छनोट गरिएको आशंकालाई बल पुर्याएको छ।
अन्तर्वार्ता नै नगरी नतिजा प्रकाशन!
विवादको पराकाष्ठा त्यतिबेला नाघ्यो जब अन्तर्वार्ताको स्थान गाउँपालिका भवनबाट सारेर स्थानीय विद्यालयमा पुर्याइयो। स्थान परिवर्तनपछि स्थानीयवासी र विद्यार्थीहरूले विरोध गर्दै अन्तर्वार्ता रोकेका थिए। आक्रोशित सर्वसाधारणले प्रमुख प्रशासकीय अधिकृत साह, प्रशासन प्रमुख मेहता र बाराबाट आएका विज्ञ यादवलाई विद्यालय परिसरबाटै लखेटेका थिए।
अन्तर्वार्ता स्थलबाट भागका पदाधिकारीहरूले अन्तर्वार्ता नै पूरा नगरी वीरगन्जका कुनै गुप्त स्थानमा बसेर नतिजा तयार पारेको गम्भीर आरोप लागेको छ। यदि अन्तर्वार्ता नै भएन भने कुन आधारमा मूल्याङ्कन फाराम भरियो र अंक प्रदान गरियो? यो सोझै कानुनको उल्लङ्घन र भ्रष्टाचार हो।