सर्लाही । नेपाली कांग्रेस सर्लाही जिल्ला कार्यसमितिका कार्यवाहक सभापति सरोजकुमारले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्।
उनले पार्टीका केन्द्रीय सभापतिलाई सम्बोधन गर्दै पठाएको राजीनामापत्रमा कार्यवाहक सभापतिको जिम्मेवारीसँगै पार्टीको साधारण सदस्यता पनि त्यागेको उल्लेख गरेका छन्।
राजीनामाको कारण खुलाउँदै उनले सर्लाही निर्वाचन क्षेत्र नम्बर–२ मा क्रियाशील सदस्यता वितरण तथा नवीकरण प्रक्रियामा गम्भीर अनियमितता भएको आरोप लगाएका छन्। उक्त प्रक्रियामा लोकतान्त्रिक मूल्य, मान्यता र पार्टीको विधि–विधानको पालना नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्।
राजीनामापत्रमा उनले पार्टीका संस्थापक नेता बीपी कोइराला, सुवर्ण शमशेर राणा, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले स्थापित गरेका आदर्श र सिद्धान्तबाट कांग्रेस विचलित भएको दाबी गरेका छन्।
स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस उम्मेदवारलाई हराउन भूमिका खेलेका व्यक्तिलाई कारबाही गर्नुको सट्टा उनीहरूलाई नै क्रियाशील सदस्यता प्रदान तथा नवीकरण गरिएको आरोप पनि उनले लगाएका छन्।
यस्ता गतिविधिले इमानदार कार्यकर्ता र पार्टी सदस्यहरूको भावनामाथि गम्भीर चोट पुगेको उल्लेख गर्दै उनले पार्टीका सबै जिम्मेवारी र साधारण सदस्यतासमेत त्याग्ने निर्णय गरेको बताएका छन्। उनले आफ्नो राजीनामा तत्काल स्वीकृत गर्नसमेत आग्रह गरेका छन्।
यसैबीच, सर्लाही निर्वाचन क्षेत्र नम्बर–२ (ख) का क्षेत्रीय सभापति भिखारी ठाकुरले पनि पद तथा साधारण सदस्यता त्याग्दै राजीनामा दिएका छन्।
केन्द्रीय सभापतिलाई सम्बोधन गरेर पठाएको राजीनामापत्रमा ठाकुरले सर्लाही क्षेत्र नम्बर–२ (ख) को क्रियाशील सदस्यता नामावली पूर्वाग्रही ढंगले तयार पारिएको र धाँधली गरिएको आरोप लगाएका छन्।
‘क्रियाशील सदस्यताको नामावली हेर्दा आश्चर्यचकित भएका छौं। त्यसैले आजकै मितिदेखि लागू हुने गरी साधारण सदस्यसमेत नरहने गरी राजीनामा स्वीकृत गरिदिनुहुन अनुरोध गर्दछु,’ उनले राजीनामापत्रमा उल्लेख गरेका छन्।