काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि 'उम्मेदवार छनोट रूपरेखा, २०८३' सार्वजनिक गरेको छ।
पार्टीले उम्मेदवार छनोट प्रक्रियालाई वैज्ञानिक, वस्तुपरक, पारदर्शी तथा सहभागितामूलक बनाउने उद्देश्यसहित नयाँ रूपरेखा लागू गरेको जनाएको छ।
सार्वजनिक रूपरेखाअनुसार उम्मेदवार छनोटका लागि चार मुख्य आधार तय गरिएको छ। जसअनुसार लिडरसिप एकेडेमीको प्रशिक्षणलाई २५ प्रतिशत, राजनीतिक निकटता तथा पृष्ठभूमि (पोलिटिकल प्रोक्सिमिटी) लाई २५ प्रतिशत, समावेशितालाई १० प्रतिशत र पार्टी सदस्यहरूको मतदानमा आधारित प्रारम्भिक निर्वाचनलाई ४० प्रतिशत भाराङ्क दिइएको छ।
रूपरेखाले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका तथा महानगरपालिकाका मेयर, उपमेयर, वडा अध्यक्ष र महानगरका वडा सदस्य पदका उम्मेदवार छनोटमा पार्टी सचिवालयलाई अधिकतम १५ प्रतिशतसम्म विशेषाधिकार प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ। उक्त विशेषाधिकार भने केन्द्रीय समितिबाट अनुमोदन गराउनुपर्ने उल्लेख गरिएको छ।
यस्तै, कुनै असाधारण परिस्थितिका कारण निर्धारित प्रक्रिया बाहिरबाट उम्मेदवार छनोट गर्नुपर्ने अवस्था आएमा त्यसका लागि पार्टीको तत्काल कायम रहेको केन्द्रीय समितिका कम्तीमा दुई–तिहाइ सदस्यको बहुमतबाट अनुमोदन अनिवार्य हुने व्यवस्था पनि रूपरेखामा समेटिएको छ।
रास्वपाले उम्मेदवार छनोट प्रक्रियामा क्यान्डिडेट क्लब, लिडरसिप एकेडेमी र प्रारम्भिक निर्वाचन (प्राइमरी) लाई अनिवार्य चरणका रूपमा समावेश गरेको जनाएको छ।