वीरगञ्ज । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै पर्सा जिल्लामा संगठनात्मक तथा अधिवेशन तयारीको समन्वय गर्ने जिम्मेवारी विजय कर्णले पाएका छन्।
कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा. डा. शशांक कोइरालाले कर्णलाई पर्सा जिल्ला संयोजकमा मनोनयन गरेका हुन्। पार्टीका स्थानीय नेता–कार्यकर्ताको सुझाव तथा केन्द्रीय प्रतिनिधिहरूको सिफारिसका आधारमा कर्णलाई जिम्मेवारी दिइएको तयारी समितिले जनाएको छ।
कांग्रेसले आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा १५औँ केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ। त्यसअघि पार्टीका विभिन्न तहका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ।
निर्धारित कार्यतालिकाअनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन र कात्तिक १५ गते जिल्ला अधिवेशन गर्ने कार्यक्रम छ। त्यस्तै मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने तयारी गरिएको छ।
महाधिवेशनको समय नजिकिँदै जाँदा पर्सामा वडा तहदेखि जिल्ला तहसम्मका अधिवेशनलाई व्यवस्थित बनाउन कर्णको भूमिका महत्वपूर्ण हुने तयारी समितिले जनाएको छ। जिल्लाभर संगठनात्मक गतिविधि सञ्चालन, नेता–कार्यकर्ताबीच समन्वय तथा अधिवेशनसम्बन्धी आवश्यक तयारी अघि बढाउने जिम्मेवारी कर्णको रहनेछ।
तयारी समितिका संयोजक डा. कोइरालाले कर्णले पार्टीको नीति, मूल्य र मान्यतालाई आधार बनाएर पर्साको संगठनात्मक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरेका छन्।
कर्णले जिम्मेवारी पाएसँगै पर्सा कांग्रेसमा आगामी अधिवेशनको तयारी, संगठन परिचालन र आन्तरिक समन्वयका गतिविधि थप तीव्र हुने अपेक्षा गरिएको छ।